• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

४१ सन्तानका धनी, समाजसेवी उदयकुमार पियाको ९५ औं जन्मोत्सवमा जे देखियो…… (फोटो फिचर)



काठमाण्डौ । समाजसेवी उदय कुमार पिया, ९५ वर्ष । उहाँ तनहूँको पुरानो सदरमुकाम बन्दीपुर बजारमा जन्म वि.सं. १९८५ साल घटस्थापनको एकदिन अघि जन्मिनुभएको । बुबा त्रिभु नारायण र आमा दिलकुमारीको कोखबाट जन्मेका ५ दाजुभाई र दुई दिदीवहिनीमध्येका ठुलोकान्छा यानी ठाइँलो छोरा ।

१७ वर्षको उमेरमा चमेलीदेवीसंग लगनगाँठो कस्नुभएका ९५ वर्षिय उदयकुमारका २ छोरा र ६ छोरी हुनुहुन्छ । जेठो छोरा डा.मदन कुमार, कान्छो छोरा इन्जिनियर सुनिल कुमार पिया । ६ छोरीहरु तारा प्रधान, मिनु प्रधान, लक्ष्मी जोशी, कल्पना श्रेष्ठ, डा.अनारकली श्रेष्ठ र डा.सपना मल्ल हुनुहुन्छ । ६ मध्ये ५ जना ज्वाँई जीवित हुनुहुन्छ ।

छोरा र छोरीतर्फका गरि १७ जना नाति नातिनी र १४ जना पनाति पनातिनी छन् । नाति नातिनी धेरै जसो उच्च शिक्षाको सिलसिलामा विदेशमा छन् । अहिले उदयकुमार छोराबुहारी, छोरीज्वाई, नातिनातिनी र पनाति पनातिनी गरि ४१ जना सन्तानको जीवित जेठा धनी अभिभावक हुनुहुन्छ ।


उदयकुमारकी धर्मपत्नि चमेलीदेवीको निधन भएको २२ वर्ष भयो । त्यो बेलादेखि उहाँ अधिकांश समय नारायणगढको घरमा सकृयरुपमा एक्लै बस्दै आउनुभएको थियो । कोभिडपछि स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि उहाँ जेठा छोरा, वरिष्ठ छातीरोग तथा क्यान्सररोग विशेषज्ञ डा.मदनकुमार पियासंग ललितपुरमा बस्दै आउनुभएको हो ।

समाजसेवी पिया विद्यालयमा औपचारिक शिक्षा नलिएतापनि घरमै किताव पढेर होमियोप्याथी उपचार विधि सिकी बन्दीपुरवासीलाई उपचार गर्दै आउनुभएको थियो । ‘उहाँ ज्योतिषले जस्तै चिना पनि हेर्नुहुन्थ्यो र उहाँले भनेको कुरा धेरै मिल्थ्यो पनि’—उहाँका जेठा छोरा डा.पिया भन्नुहुन्छ ।
बन्दीपुरमा व्यापार गर्दै आएका पिया परिवारका सन्तान उदय कुमारले आफ्नो व्यापार व्यवसाय गर्ने सिलसिलामा नारायणगढ, चितवन, माडी, ठोरीदेखि भारतको नरकटियागञ्जमा समेत व्यवसाय र सम्पत्ति विस्तार गर्नुभएको थियो ।

हिउँदभरी नारायणगढ, चितवनमा मौसमी व्यापार गरि वर्षाताका बन्दीपुर फर्किने गरेका उहाँले २०१४ सालदेखि चितवनलाई स्थायी व्यापारिक केन्द्र बनाउनुभएको थियो । २०२२/०२३ ताका तनहुँको पुरानो सदरमुकामलाई बन्दीपुरबाट दमौलीमा सारेपछि बन्दीपुर सुनसान हुन पुग्यो । त्यसपछि बन्दीपुरको सम्पत्तिलाई त्यँहि थाँती राखेर उदय कुमारको परिवार स्थायीरुपमा नारायणगढ बसाई सर्यो ।

विद्यालय शिक्षा नलिएपनि चितवनदेखि बन्दीपुरका विभिन्न सामुदायीक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्दै आउनुभएका उदयकुमार आफ्नो जीवनकालमा चितवनमा विभिन्न विद्यालय स्थापना र विस्तार गर्न सहयोग गर्दै आउनुभएको छ । विद्यालयमा खानेपानी टयांकी, धारा, शौचालय, पुस्तकालय बनाउन उहाँको योगदान महत्वपूर्ण रहेको छ ।

उहाँले भरतपुर लंकुमा ६ कठ्ठा जग्गा दिएर आफ्नी श्रीमतीको नाउँमा सामुदायीक मावि, चमेलीदेवी पिया मावि स्थापना गर्नुभएको धेरै भइसक्यो । यसको साथै पछिल्लो समय नारायणगढको न्युरोडमा आफ्नै जग्गामा उदयकुमार—चमेलीदेवी पिया स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र निर्माणको क्रममा हुनुन्छ ।
तिनै समाजसेवी उदय कुमार पियाको ९५ औं जन्मोत्सव शनिबार उहाँको परिवारले सानेपास्थित हेरिटेज गार्डेनमा भव्यरुपमा मनायो । आफ्ना सबै सन्तान, आफन्त र शुभचिन्तकका साथ मनाइएको सो समारोहमा नेपाली कांग्रेसका उपसभिापति एवम् पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, पुर्वमन्त्री शंकर कोइराला, जनपद प्रहरीका पुर्व महानिरीक्षक प्रकाशराज अर्याल, शसस्त्र प्रहरीका पुर्व महानिरीक्षक पुष्पराम केसी,नेपाली सेनाका वहालवाला र पुर्व रथीहरु, सांसदहरु, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरु, शिक्षासेवीहरु, समाजसेवीहरुको बाक्लो उपस्थिति थियो ।