८ भाद्र २०८३, सोमबार
,
Latest
जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर



अ+ अ-

मलेखु (धादिङ) ।  धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू–बनोटको टाकुरामा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको छ । गणेश हिमाल, मनास्लु,माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिने भैरवी मन्दिरमा चाडपर्व र बिदाको दिन दर्शनार्थीको घुइँचो नै लाग्छ ।

पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएका बेला मासु खान मन लाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल जानुभयो । सुँगुरको सिकार गरेर फर्किनुभयो । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप्टो परेर बस्नुभयो । भैरवलाई भित्र पस्न दिनुभएन । प्रश्रव पीडामा छट्पटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ । अहिले यो स्थानमा भैरवी र भैरवको छुट्टाछुट्टै दुईवटा मन्दिर छ ।

नेपालमा राम शाहले विसं १६६६ मा स्थापना गरेको आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेका कुरा लालमोहरमा लेखिएको छ । तर स्पष्ट बुझिँदैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेको र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ ।

“मन्दिरमा पूजासहित बडादसैँ र चैते दसै मा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा रहिआएको छ । वडा दसँैको नवमीका दिन सुँगुरको बलि दिँदै आएको छ”, श्रेष्ठ भन्नुहुन्छ, “मन्दिर आइपुग्न सदरमुकामबाट १३ किमी कालोपत्र र पाँच किमी कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र भई हाइकिङ गर्ने पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।”

विसं २०७२ को भूकम्पले भत्किएपछि अहिले मन्दिरको पुनःनिर्माण भइरहेको छ । विसं २०७६ फागुन २३ गते मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो । रु १३ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर निर्माणको काम सुरु गरिएको छ । हालसम्म मन्दिरमा रु चार करोड बराबरको पुनःनिर्माण भइसकेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष धु्रव श्रेष्ठले बताउनुभयो ।

मन्दिरमा खानेपानी, शौचालयको राम्रो व्यवस्था छ । सिसी क्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ । मन्दिर आइपुग्ने भक्तजन प्राकृतिक सुन्दरताको मनोरम दृश्यमा लोभिने गरेका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीबाट १८ किमीको दूरीमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो ।

सुनौलाबजार पुरानो मन्दिर

भैरवी मन्दिरको तल्लो भागमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो । जब विसं १९४७ मा धादिङ बेनीघाटको इराङबाट जङ्गीअड्डा सुनौलाबजार सारियो, तब त्यहाँ सदरमुकामका लागि आधार बन्यो । तर, २०३२ सालमा यहाँबाट सदरमुकाम धादिङबेँसी सारियो । सुनौलाबजार अहिले पनि पुरानो धादिङको नामले परिचित छ ।

तत्कालीन समयमा भौगोलिक विकटता, यातायातको पहुँच र ढुवानीको समस्याले नै टाकुरामा रहेको सदरमुकामलाई बेँसी झारियो । धादिङबेँसीमा सदरमुकाम सरेपछि त्यहाँका ८० प्रतिशत मानिस पनि बेँसी झरे । त्यसपछि सुनौलाबजारको चहलपहल घट्यो । जिल्लाकै पुरानो भैरवी उच्च माध्यमिक विद्यालय अहिले पनि कायमै छ । खानेपानीको चरम अभाव अहिले समाधान भइसकेको छ ।

एउटा कालखण्डमा पूरै धादिङ नेतृत्व गरेको पुरानो धादिङ पर्यटनका हिसाबले सूचीकृत गर्न लायक ठाउँ हो । भैरवी मन्दिरको चर्चा सुरु भएसँगै अहिले यहाँको चहलपहल फेरि बढेको छ । रासस