• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

पूर्व डिआइजीको दशैँ अनाथ आश्रमका बालबालिकासँग



ललितपुर । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक अशोक सिंहले एक अनाथ आश्रमका बालबालिकासँग यस वर्षको दशैँ मनाउनुभएको छ ।

उहाँले ललितपुर महानगरपालिका, २५ नख्खुडोल स्थित तुलसालय आश्रमका बालबालिकालाई दशैँको टीका लगाउँदै भोजन गराएर दशैँ मनाउनुभएको हो ।

सो आश्रमका बालबालिकालाई आफ्नै निवासमा ल्याइ डिआइजी सिंह, उहाँकी धर्मपत्नी प्रज्ञा राज्यलक्ष्मी राणा सिंह र मोहन शाहीले टीका प्रसाद लगाइ दक्षिणा प्रदान गर्नुका साथै भोजन गराउनुभएको थियो । तुलसालयमा आश्रित रहेका ३५ जना बालबालिका उहाँको निवासमा गएका थिए ।

सो आश्रमकी सञ्चालक एवं अध्यक्ष सरु सुवेदीले आश्रममा आश्रितहरुलाई घरमै लगेर दशैँ मनाउने काम गर्नुभएकामा पूर्व डिआइजी सिंहलाई धन्यवाद दिनुभयो । आफ्नो घरमा आशौच परेकोले आश्रममा रहेका छोराछोरी एवं बाआमाहरुलाई टीका लगाइदिन नभएकाले उनीहरु निरास भएको अवस्थामा डिआइजी सिंहले तुलसालयका बालबालिकासँग आफ्नै निवासमा दशैँ मनाउने योजना बनाउनुभएकोमा आफू र आश्रमको परिवारका सबैजना खुसी भएका सुवेदीले बताउनुभयो ।

अहिले घरमा आशौच रहेकाले आगामी कोजाग्रत पूर्णिमामा आश्रमका छोराछोरी र बाआमालाइ टीका लगाइ दशैँ मनाउने योजना रहेको पनि उहाँले सुनाउनुभयो ।

सो आश्रममा हाल बालबालिका, बृद्धबृद्धा बाआमा तथा मानसिक रोग भएकाहरु समेत गरी ५४ जना आश्रित रहेका छन् । डिआइजी सिंह र उहाँकी धर्मपत्नी प्रज्ञा राज्यलक्ष्मी राणा सिंहले तुलसालय आश्रमलाई विगत लामो समयदेखि सहयोग प्रदान गर्दै आउनुभएको छ ।