१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुन: सहिदगेट भएर सोही खेलमैदानमा पुगेर समापन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यसपटक नेपालमा बडादसैँ पर्व परेकाले आज ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा आजै ‘युएन डे’ विशेष कार्यक्रमको आयोजना हुँदैछ ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपाल त्यसबेलादेखि नै संयुक्त राष्ट्रसङ्घका अधिकांश शान्ति अभियानमा सक्रियरुपमा सहभागी हुँदै आएको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् ।

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायतका निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्तिकार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएका छन् । विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो ठूलो वरियता भएको राष्ट्र हो ।

हाल विश्वका १३ मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल, नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष ‘युएन डे’ का अवसरमा कात्तिक ५ गते विशेष कार्यक्रम तथा कात्तिक ६ गते ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो । रासस