२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएको बाइडेनको भनाइ



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासका बन्धकहरूलाई मृत्युदण्ड दिने धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

हमासले इजरायलले गाजामा बिना कुनै चेतावनी नागरिकमाथि आक्रमण गरी बन्धक बनाइएकाहरुको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए ।

किर्बीले सीएनएनसँगको कुराकानीमा भने, “यस्तो धम्कीलाई तपाईं हल्का रूपमा लिन सक्नुहुन्न । हमासले आफू सक्षम रहेको देखाइसकेको बर्बरताका कारण तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”

असी वर्षीय बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरेपनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैनन् । सम्भावित बन्धक सङ्कट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उनले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पुर्याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताएका छन् ।

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले मङ्गलबार बिहान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

नेतन्याहूसँग उनीहरूले ‘इजरायलका लागि अमेरिकी समर्थन’ र ‘इजरायलमाथिको यस आक्रमणको फाइदा उठाउन अन्य शत्रु शक्तिहरूलाई रोक्न’ प्रयासहरूबारे छलफल गर्नेछन् । इरानले हमासलाई समर्थन गर्दछ र यो कुरा दक्षिणी लेबनानबाट सञ्चालित लडाकू समूह हिजबुल्लाहको हमासलाई सहयोग गर्ने प्रतिवद्धताबाट स्पष्ट हुन्छ ।

बाइडेनले स्थानीय समय अनुसार अपराह्न १ बजे ह्वाइट हाउसबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

इजरायलमा ७५ वर्षको इतिहासकै सबैभन्दा खराब आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९०० नाघेको छ भने गाजाका अधिकारीहरूले इजरायली हवाई आक्रमणमा ७६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

हमासले आफ्नो आक्रमणपछि करिब १५० जनालाई बन्धक बनाएको छ, यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू रहेका छन् । उनीहरूलाई एक सङ्गीत महोत्सवमा पक्राउ गरिएको थियो जहाँ करिब २७० जनाको मृत्यु भएको थियो ।