• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष



फाईल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताउनु भयो । उहाँले देशमा अराजकताको संकेतहरु देखापरेका भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताउनु भयो । उहाँले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताउनु भयो ।

त्यस्तै आन्दोलनरत राहत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनु भयो । प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने पनि बैठकको निष्कर्ष रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरुले उठाएका प्रश्नहरु, गुनासोहरुको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो । शिक्षा विधेयक संसदमा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भिर ढंगले छलफल गर्‍यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने छलफल गर्‍यौँ । देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ ।’

‘सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेतहरु देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भिरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने बिकराल रुप लिनसक्छ । त्यसैले बेलैमा सचेत भएर यि समस्याहरु समाधान गर्नुपर्छ भनेर हाम्रो छलफल भयो । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भिरतापूर्वक लाग्नुपर्‍यो । बाहिर पनि छलफल चलाउनु पर्‍यो । नेतृत्व लिनुपर्‍यो । सामाजिक संघ, संस्थासँग अन्तरक्रिया गर्ने पनि भनिएको छ ।’

प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गर्नुभयो ।