• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर

साफ यू–१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य



काठमाडौँ । नेपालले बिहीवारदेखि शुरु हुने साफ यू–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने लक्ष्य राखेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिता अगाडि बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन दिने बताउनु भयो । सबै खेलाडी मिहिनत गरेको र घरेलु मैदानमा हुने च्याम्पियन अवसरको रूपमा समेत लिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ ।

पत्रकार सम्मेलनमा ६ मध्ये पाँच टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए । पाकिस्तान भने नेपाल आइनपुगेका कारण कार्यक्रममा उपस्थित भएन । भारत यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ । खेलाडीहरूलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि दुई वर्षदेखि प्रशिक्षण गरिरहेको जनाएको छ । साथै साफ नजिकिएपछि साउदी अरेबिया गएर बन्द प्रशिक्षण गरेको थियो । काठमाडौं आउनुअघि साउदीमा दुई अभ्यास खेल खेलेको र दुवैमा जित प्राप्त भएको भारतीय टोलीले जनाएको छ ।

भारतीय यू–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद् नतिजा आउनेमा आशावादी रहेको बताउनु भयो । दुई वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएको र देशभरबाट छनोट गरिकाले यो टोलीले राम्रो नतिजा दिने भारतीय प्रशिक्षक शुभेन्दुको विश्वास छ ।

यू–१९ च्याम्पियनसिपको पाँचौ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । नेपालबाटै शुरु भएको यो उमेरसमूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । २०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तिमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो । त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो । यद्यपि, त्यो यु–१८ साफ च्याम्पियनसिप हो ।

अर्पण कार्कीको नेतृत्वमा नेपाल पाँच टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएको थियो । सिंगल राउण्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना गरेको थियो । तर, यू–१९ साफ च्याम्पियनसिपमा नेपालले समूहचरण पनि पार गर्न सकेन । पछिल्लो संस्करण २०२२ मा यू–१९ साफ च्याम्पियनसिप भारतले आयोजना गर्यो । तर, आयुष घलानको कप्तानी रहेको नेपालले यस उमेरसमूहमा पनि राम्रो नतिजा ल्याउन सकेन ।

सिंगल राउण्ड रोबिन पद्धतिका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चियो । यस पटक भने नेपाल यू–१९ उमेरसमूहको च्याम्पियनसिपमा घरेलु मैदानको फाइदा उठाउँदै सुखद नतिजा ल्याउने लक्ष्यमा छ । माल्दिभ्सका मुख्य प्रशिक्षक ऐहमद शाकिरले पनि ९० प्रतिशत घरेलु लिग खेलेका खेलाडी रहेको र पछिल्लो २८ दिनको प्रशिक्षणबाट सक्दो राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस च्याम्पियनसिपमा बंगलादेशलाई पनि दाबेदार टोलीका रूपमा हेरिएको छ । बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाएपनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताउनुभएको छ ।

यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये पाँच राष्ट्रका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताउनु भयो । नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसअघि उद्घाटन खेलमा दिउँसा भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ ।

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा पाकिस्तान र माल्दिभ्स छन् । अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बंगलादेश र भूटान छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रश्तुत गर्ने हुनेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भूटान र बंगलादेश छन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् ।