१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

देउडाले गुञ्जायमान सुदूरका बस्ती

देउडाले गुञ्जायमान सुदूरका बस्ती
अ अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् ।

देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकार बताउँछन् ।

“देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देवगाथालाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।

“देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्दछ”, भट्टले भन्नुभयो, “यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त मीतबन्धु बताउँछन् । “देउढामा समाजका राम्रा–नराम्रा पक्ष र समसामयिक घटना उठानका साथै मायाप्रेमका कुरा पनि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “यो विशेषगरी गौरा तथा मेला पर्वमा खेल्ने गरिन्छ ।”

देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नभएको उहाँले बताउनुभयो । “सुदूरपश्चिममा पहिले–पहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाडवाडमा पनि खेल्दै आएको पाइन्छ”, उहाँले भन्नुभयो, “गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।” देउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रितरूपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदु:ख, मायाप्रेम, हास्यव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्ति–उपदेशका प्रश्न–उत्तरमा आधारित गीत प्रस्तुत गर्ने राजमति जाग्री बताउनुहुन्छ ।

“माया पिरतीका कुरा देवी–देवताका कुराकानी गीतमार्फत गर्ने गर्छाँै”, जाग्रीले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।” प्रविधिको विकाससँगै डोट्याली लोकगीतको विकास हुने क्रममा विभिन्न बाजागाजासहित देउडा गीत रेकर्ड हुने क्रम पनि बढ्दै गएको पाइन्छ । यसरी गीतमात्रै गाउनु डेउडा गीत हो भने गायनसँगै खेल्नु देउडा खेल हो ।

गौराका अवसरमा गाउँबाट बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शीवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ । समाजले देउडा, ठाडो खेल आयोजना गरेको हो ।

गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी–पुुरुष, युवा–पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ ।

त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेल पनि खेलिन्छन् । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ”, स्थानीय विश्राम भट्टले भन्नुभयो, “ठाडो खेलमा मादलको तालसँगै पैतला मिलाउँदै देवी–देवताको गाथा मनोरञ्जनात्मकरूपमा गाइन्छ ।”

देउडामा सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर देउडा इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ । रासस