२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो एक महिनामा ७४ प्रतिशतले महँगियो तरकारीको भाउ



अ+ अ-

काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ ।

खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।

यस्तै साउन १६ गते ४५ रुपियाँमा थोकमा कारोबार भएको तनेबोडी भदौको ४ गते मूल्य बढेर ११० रुपियाँ थोकमै पुगेको छ । खुद्रामा यसको मूल्य प्रतिकेजीको २२० रुपियाँसम्म किनबेच भएको छ । यस्तै सो अवधिमा सेतो मुला ३७ मा कारोबार भएकामा अहिले बढेर ७६ रुपियाँ रहेको छ ।

स्थानीय काउली प्रतिकेजी ६८ रुपियाँबाट ८८ रुपियाँ, मकैबोडी ६६ रुपियाँबाट ८५ रुपियाँमा थोकमा किनबेच भइरहेको छ । यस्तै भदौ ४ गते भटमास प्रतिकेजी १०४ रुपियाँ, तितेकरेला प्रतिकेजी ५० रुपियाँ, लौका प्रतिकेजी ८० रुपियाँ, परबर प्रतिकेजी ७० रुपियाँ, घिरौँला प्रतिकेजी ५० रुपियाँ र भिन्डी प्रतिकेजी ५० रुपियाँमा किनबेच भएको छ । यसको भाउ खुद्रा बजारमा दोब्बरभन्दा बढी महँगो छ ।

चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।