२१ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया



अ+ अ-

काठमाडौँ। महालेखा परीक्षक तोयम रायाले आर्थिक ऐन र नियमहरूको बुझाइमा एकरुपता नहुँदा लेखा परीक्षणको क्षेत्रमा चुनौती थपिएको बताउनुभएको छ ।

नेपाल अडिटर्स एशोसिएशन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले पेशागत दक्षता र कानुनी स्पष्टताको अभावमा एउटै विषयमा फरक–फरक निकायको दृष्टिकोण फरक हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

महालेखा परीक्षक रायाले लेखापाल, आन्तरिक लेखा परीक्षक र अन्तिम लेखा परीक्षकले एउटै विधि र कानूनका आधारमा काम गरे पनि नतिजामा भिन्नता देखिनु र ठूलो परिमाणमा बेरुजु कायम हुनुले प्रश्न उब्जाएको टिप्पणी गर्नुभयो ।

निजी क्षेत्रका प्रतिनिधिहरूले उठाउँदै आएको ‘भूतप्रभावी’ कानून र ट्याक्स अडिटपछि पनि महालेखाले प्रश्न उठाउने गरेको विषयमा स्पष्ट पार्दै रायाले ३५ दिने जवाफको म्याद र छलफलका पर्याप्त अवसरहरू दिने गरिएको बताउनु भयो ।

उहाँले कर अधिकृतले गरेको परीक्षणमा त्रुटी देखिए वा राजश्व चुहावट भएको पाइएमा महालेखाले प्रश्न उठाउनु स्वाभाविक भएको तर्क गर्नुभयो । महालेखा परीक्षक रायाले नेपालका कतिपय आर्थिक ऐनहरू पुराना भइसकेकाले तिनलाई पुनर्लेखन गर्नुपर्ने बताउनु भयो ।

विशेषगरी चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ लाई समयानुकूल परिमार्जन गर्दै आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नवीन प्रविधिलाई समेट्नुपर्ने उहाँको भनाइ छ । उहाँले कानून निर्माण गर्दा सनसेट ल (निश्चित अवधिपछि स्वतः निष्क्रिय हुने वा पुनरावलोकन गर्नुपर्ने कानून) को अवधारणा अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो । ऐनहरू कति वर्षका लागि लागू हुने भन्नेकुरा स्पष्ट हुनुपर्ने र समयसापेक्ष परिमार्जन नहुँदा कार्यान्वयनमा जटिलता आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कानून र विधि एउटै भएपनि त्यसको व्याख्यामा किन भिन्नता हुन्छ ? यदि हाम्रो बुझाइ फरक भएको हो भने हाम्रो तालिम र विश्लेषण पुगेको छैन भन्ने बुझ्नुपर्छ । आर्थिक कानून, भन्सार ऐन र सार्वजनिक खरिद ऐन सबैका लागि एउटै हो । यसमा सबै पक्षको एउटै बोली र बुझाइ हुनुपर्छ । संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर निजी र सरकारी क्षेत्रबीच हातेमालो गर्न महालेखा परीक्षकको कार्यालय सदैव तयार छ । मैले धेरै समयदेखि भन्दै आएको विषय के हो भने कुनैपनि ऐनभन्दा सन्सेट लको आधारमा बन्नुपर्छ । ऐन लागुहुने वर्ष पनि यकिन गर्नुपर्छ । निश्चित समयपछि त्यो ऐनमा संशोधन हुनुपर्ने विषय छ भने संशोधन हुनुपर्छ । अन्यथा पुनः यो ऐन अहिलेकै ठिक छ । त्यो समयअवधिभित्र पनि त्यो ऐन ठिक भनेर भन्ने हो भने पनि संसदबाट पास हुनुपर्छ । यो चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ सालमा बनेको हो । ३० वर्षसम्म पनि हामीले संशोधन गर्न सकिरहेको अवस्था छैन । धेरै विषयहरु रहेका छन् । यो ऐनलाई पनि प्रविधि र एआईसहित पुनर्लेखन गर्नुपर्ने आवश्यकता छ ।’

मुलुकका दुर्गम जिल्लाहरूमा लेखा परीक्षकहरूको उपलब्धता सहज नभएको स्वीकार गर्दै रायाले मध्यम स्तरका दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनु भयो । हुम्ला र ताप्लेजुङ जस्ता जिल्लाका साना संस्थाहरूले लेखा परीक्षण गराउन कठिनाइ भोगिरहेको तर्फ संकेत गर्दै उनले यसलाई कानूनी रूपमै सम्बोधन गर्नुपर्ने बताउनु भयो । संघीय, प्रादेशिक र स्थानीय तहका आर्थिक ऐनहरू आपसमा बाझिएको भन्दै उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको प्रतिकूल हुनेगरी कानून नबनाउन आग्रह गर्नुभयो । आर्थिक कानूनहरू निर्माण गर्दा संसदीय समितिहरूले महालेखा परीक्षकको कार्यालयसँग समेत परामर्श गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । –न्युज एजेन्सी नेपाल