• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

हुलाकबाट एक करोड राजस्व सङ्कलन



चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट रु एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख रमेश ज्ञवालीका अनुसार हुलाक सेवा शुल्कबाट रु ८६ लाख ३० हजार एक सय एक, भन्सार महसुल आयातबाट रु नौ लाख ९३ हजार ७४, रेडियो एफएफ सञ्चालन दस्तुरबाट रु ४४ हजार, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आय रु ५४ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने दस्तुर रु १५ लाख ६१ हजार ६१ सङ्कलन भएको छ भने यहाँको टेलिभिजन सञ्चालन गरेको दस्तुर रु २५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

गत आवमा कार्यालयले १० लाख ७३ हजार एक सय थान टिकट बिक्री गरी रु ९८ लाख ३४ हजार सात सय ६५ आम्दानी गरेको छ । जिल्ला हुलाक कार्यालयबाट यहाँका पत्रपत्रिका तथा एफएम र टेलिभिजनलाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तनी गर्ने गरिएको प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । यस कार्यालयबाट गत आवमा रु ५१ लाख नौ हजार छ सय ७७ लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी गरिएको छ ।

यहाँका तीन दैनिक पत्रपत्रिकालाई रु ११ लाख ७२ हजार छ सय ९०, आठ साप्ताहिक पत्रिकालाई रु १९ लाख ८२ हजार नौ सय ५९ र एउटा द्विमासिक पत्रिकालाई रु एक लाख २० हजार सात सय ४९ भुक्तानी गरिएको छ । त्यसैगरी जिल्लाका चौध एफएम रेडियोलाई रु १५ लाख ९० हजार छ सय ९२ र एउटा टेलिभिजनलाई रु दुई लाख ४२ हजार पाँच सय ८५ भुक्तानी गरिएको छ ।

कार्यालयको काम, कर्तव्य र अधिकारभित्र रहेर सो भुक्तानी गरिएको कार्यालय प्रमुख ज्ञवाली बताउनुहुन्छ । लोककल्याणकारी विज्ञापनसँगै कार्यालयले केबल टिभी एफएम रेडियोहरूको नवीकरण तथा अनुगमन गर्दै आएको छ । राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम सूचनाको हक कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेस गर्ने गरिएको उहाँको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयले गत वर्ष ४४ हजार ८४ हुलाक वस्तु देशभित्र र सात सय २३ विदेश पठाएको छ । त्यसैगरी ३५ हजार २३ हुलाक वस्तु देशभित्रबाट र १० हजार आठ सय ३८ विदेशबाट हुलाक वस्तु आएको छ । हाल जिल्ला हुलाक कार्यालयले पूर्व–पश्चिम डाँक व्यवस्थापन र सञ्चालन, हुलाक वस्तु दर्ता एवं रजिष्ट्री, द्रुत डाँक सेवालगायतका काम गर्दै आएको छ । जिल्लामा हाल १३ इलाका हुलाक र २५ अतिरिक्त हुलाक कार्यालय छन् । पछिल्लो समय निजी क्षेत्रका कुरियर सेवा सञ्चालन भएपछि हुलाकको काममा भने केही कमी आएको छ । रासस