२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- उत्तराधिकारी तयार गरेर जाऔँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउनुभएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उहाँले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताउनुभयो ।

“भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।”

पार्टी पुन:निर्माणको ऐतिहासिक सम्भावना रहेको रहेको उहाँले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राख्नुभयो । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल मोर्चा सरकार भएको स्पष्ट पार्नुभयो ।

“अहिलेको समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ”, उहाँले भन्नुभयो, “अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान म तयार छु ।” बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको भन्दै उहाँले अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराउनुभयो ।

अर्का उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभयो । पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उहाँले गुनासो गर्नुभयो ।

पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नुपर्छ ।”

उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा जोड दिनुभयो ।

“पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीलाई पूर्णत: डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि उहाँले जोड दिँदै उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताउनुभयो । रासस