१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले लागू गर्यो पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली



अ+ अ-

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताउनुभयो । निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ । अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ । यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ ।

सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० मुनाफा थियो । आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ ।

त्यस्तै डिजेलमा दुई प्रतिशत र पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत नाफा राख्ने निर्णय गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष ई. उमेशप्रसाद थानीले आम उपभोक्ताको चाहनाबमोजिम पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

निगमको ऋण दायित्व छँदाछँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य प्रणाली कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । “आम उपभोक्ता र विशेषगरी गृहिणीहरुको हितलाई ध्यानमा राखी खाना पकाउने एलपी ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्यबमोजिम नै खुद्रा मूल्य राखिनेछ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने निगम पनि वित्तीय रुपमा स्वस्थ हुनेछ”, कार्यकारी निर्देशक थानीले भन्नुभयो । रासस