• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

ढोरपाटन सिकार आरक्षबाट लुकाएर राखिएका हतियार बरामद



फाईल फोटो

गण्डकी । ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो ।

देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिनुभयो । एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन् ।

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छालासहित पक्राउ परेका अवैध सिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । जडीबुटी र काठको चोरी–सिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ । जनशक्ति अभावले तीन जिल्लामा फैलिएको आरक्षको सबै क्षेत्रमा सुरक्षा निगरानी गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ । आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला हुन्छ । वर्षमा बीस नाउर र एघार झारलको सिकार गरिन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको उक्त आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रासस