१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा

नारायणगढ–मुग्लिन सडक: वर्षाभरि पहिराको जोखिम

नारायणगढ–मुग्लिन सडक: वर्षाभरि पहिराको जोखिम
अ अ+ अ-

चितवन । पहिरोका कारण अवरुद्ध  नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर अझै पनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका ढुङ्गा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन् ।

केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि पनि देखिएका छन् । यस सडकखण्ड पहिरोका कारण प्रत्येक वर्ष अबरुद्ध हुँदै आएको छ । बर्खा लागेसँगै पहिरो खस्नु नयाँ होइन ।

विश्व बैंकको पहिरो विज्ञसहितको प्राविधिक टोलीले यसअघि दुईपटक गरेको अध्ययनमा मौरीखोला माथिको एकापट्टी डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको थियो । सो ठाउँमा २५ हजार घनमिटर हाराहारीमा पहिरो खस्नसक्ने विज्ञ टोलीको अनुमान छ ।

कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलले भन्नुभयो “आठरदश हजार घनमिटरसम्म त धान्न सकिन्छ । बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ ।”पहिरो कतिबेला खस्छ थाहा नहुने भएकाले बर्खामा यससडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण देखिएको छ ।

गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडो देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिराको जोखिम बढ्दै गएको विश्लेषण गरिएको छ ।

सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गर्नुभएका इन्जिनियर शिव खनालका अनुसार भूगर्वविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झण्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ । यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरुले आँकलन गरेको उहाँको भनाइ छ । सो सडकखण्डको चार किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । हाल ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएका छन् ।

ईच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा पछिल्ला केही दिन यता पहिरोले दुःख दिइरहेको छ । आज दिउँसो १ बजेबाट नाम्ची पुलमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिगत तीन वर्षयता वर्षातको समयमा मौरी खोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो ठाउँमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ । कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रमेशकुमार पौडेलका अनुसार विगतका वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ ।

सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा छन् । सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।

पौडेलका अनुसार ती ठाउँमा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पहिरो पन्छ्याउनका लागि साधन तयारी अवस्थामा राखेको छ । सो सडकका अन्य क्षेत्रमा सानातिना पहिरो खस्ने क्रम जारी रहेको छ । पौडेलले अन्यत्र भने ठूलो समस्या नहुने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “जुनसुकै ठाउँमा पहिरो खस्ना साथ पन्छ्याउनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर काम गर्न तयारी अवस्थामा हामी छौँ ।”

उहाँले रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेर मात्रै हिँड्न आग्रह गर्नुभयो । यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ छैन यकिन गरेर मात्रै हिँड्न उहाँको सुझाव छ । त्यसो त पहिरो खसेको अवस्था भए जोखिम नहुने ठाउँमा सवारी रोक्न पनि उहाँले आग्रह गर्नुभयो ।

डिभिजन सडक कार्यालयका इञ्जिनियर सागर कार्कीका अनुसार ३ नम्बर पुलसँगै नारायणगढबाट मुग्लिनतर्फ १४ किलोमिटर, १५ किलोमिटर र १६ किलोमिटरमा पहिराको जोखिम छ । १७ किलोमिटरमा यसपटक पहिरो खसेको छ । १८ किलोमिटरमा गत वर्षझै यसवर्ष पनि पहिरोको जोखिम देखिएको छ । २० किलोमिटर अर्थात् सेती दोभान र २१ दशमलव चार किलोमिटर मौरीपुल पहिरोको जोखिम छ ।

तेइस किलोमिटरको सिमलतालमा पुलका लागि भित्तो काटिएकाले पहिराको जोखिम देखिन्छ । गत वर्ष पहिरो नखसेको ३१ दशमलव पाँच किलोमिटरको चोरखोलामा यसवर्ष पहिरो खसेको छ । ३२ दशमलव चार किलोमिटरको नाम्सी पुल नजिक गत वर्षझै यस वर्ष पनि पहिरो खसेको छ ।

३२ दशमलव ८ किलोमिटरको कालिखोला र ३३ दशमलव ८ को तुईन खोलामा पहिरो जोखिम भएका कार्कीले बताउनुभयो । सडकको माथिल्लो भागमा खोलिएका शाखा बाटो र भौगोलिक कारणले पहिराको जोखिम रहेको उहाँको भनाइ छ । कार्कीले भन्नुभयो, “वर्षात्को समयमा यो सडकको यात्रा जोखिमपूर्ण छ, सुरुमा सुक्खा पहिरो खस्ने र पछि गएर हिले पहिरो खस्ने गरेको छ ।”

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की वर्षात्को समयमा यो सडक जोखिमपूर्ण भएकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गर्नुहुन्छ । उहाँले भन्नुभयो, “सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुहोस्, सम्भव नभए सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोस् ।” यस सडकमार्गमा  काठमाडौँ, पोखरालगायत गन्तव्यका आवतजावतका लागि दैनिक १० हजार हाराहारी सवारी गुड्ने गरेका छन् । रासस