२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल योगको भूमि हो, विश्वभरका अध्येताका लागि गन्तव्य बन्नसक्छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल योगको भूमि भएको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय योग दिवस २०८० को अवसरमा यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालका तीन सम्भता शिव, जनक र बुद्ध योगको जगमा विकसित भएको बताउनुभयो ।

उहाँले नेपालका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको बताउनुभयो । ‘मठमन्दिर र मूर्तिकलामा होस या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा–इनार र राजकूलोका निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले योग नेपालकै अमूल्य निधि पनि भएकाले प्राकृतिक वातावरणको हिसावले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमि भएको बताउनुभयो । उहाँले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने विचार व्यक्त गर्नुभयो ।

‘हामीले परिकल्पना गरेको योग माया आयुर्वेद विश्वविद्यालयले भोलिका दिनमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ’, उहाँले भन्नुभयो । उहाँले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताउनुभयो ।

‘स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउँछ । शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो । नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा बृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यसक्षेत्रका अनुभवी व्यक्तिहरूको ज्ञान र अनुभववाट हामीले सिक्नुपर्दछ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनस्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने भएकाले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ताहरू र योग गुरूहरूको अहम् भूमिका हुने बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढङ्गले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

मानव जातिको इतिहास, जीवनवृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयमिक योगदान गर्दै आएको भन्दै उहाँले चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वीय वाङ्मय र जीवनशैलीमा पनि हामी त्यति नै वैभवशाली भएको बताउनुभयो ।

‘योगको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञानभण्डार र जीवनलाई विश्वव्यापी रूपमा स्थापित गर्ने जिम्मेवारीसमेत हाम्रोसामु छ । यसतर्फ यहाँहरूजस्तो विद्वत वर्गको अग्रणी भूमिका रहने मैले विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्नुभएको थियो भने नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।