९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’
अ अ+ अ-

ढोरपाटन । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरी राख्नुभएको छ । अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ । एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ ।

उहाँका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँ–गाउँमा टोल–टोलमा विकास पुगेको छ मान्छे छैनन् । गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ । विसं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।

पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् । स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउनुहुन्छ । उहाँले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको बताउनुभयो ।

“उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामीहरु एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ”, उहाँले भन्नुभयो, “बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले ।”

स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताउनुभयो । उहाँले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको सुनाउनुभयो । चौध वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उहाँको भनाइ छ । स्थानीय विदेश जना थलेपछि उनीहरुमा महत्वकाक्षां बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिले विदेश जाने सङ्ख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आजभोलिनै बजार झर्दैछन्, खै किन यसरी मान्छेहरु गाउँ छोडी राखेका छन् रु, मलाई पनि निकै आश्चार्य लागेको छ, विकास छैन भनौँ भने विकास पनि भएकै छ ।”

सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताउनुहुन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । बसाइँसराइका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।

काठेखोला गाउँपालिका–३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताउनुभयो । गाउँमा एकै पटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उहाँको भनाइ छ । उहाँले जनसङ्ख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताउनुभयो । धम्जाबाट सबैभन्दा बढी पोखरा, बागलुङ, बुटवल र चिवतनमा लगायतका सहरमा बसाइँसराइ गरेर जानेको सङ्ख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ ।

“मान्छेहरु अलिअलि पैसा कमाउन थाले भने बजारनै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवद्र्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौँ”, अध्यक्ष विकले भन्नुभयो, “हामीहरुले गर्ने प्रयास गर्छौँ, हिजो स्वास्थ्य, शिक्षा, विद्युत्लगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ ।”

वडा कार्यालयको अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन् । वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइँसराइ गरेर गाउँ छाड्नेको सङ्ख्या बढी रहेको स्थानीयको भनाइ छ । –डम्मर बुढामगर/रासस