• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी



कैलाली । कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । दिउँसो २ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । ठूलो आगो नियन्त्रणमा आइसकेको र रुखमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकी गाउँपालिकाले जनाएको छ । आगलागीका कारण ठूला साल तथा सिसमका रुख जलेकाले आगो नियन्त्रणमा समस्या भइरहेको छ ।

पालिकाले आगलागी बस्तीमा फैलन सक्ने जोखिम बढेकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित रहन अपिल गरेको छ । “रुखका टुप्पामा आगो दन्किरहेको छ । हावा चलेमा यो आगो बस्तीमा फैलन सक्ने जोखिम छ”, पालिकाका विपद् व्यवस्थापन शाखा सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले भन्नुभयो”, वनसँग नजिक भएका बस्ती विजयनगर, लायकपुर, जगतपुरका स्थानीयवासीलाई सचेत रहन भनेका छौँ । रुखका टुप्पासम्म निभाउन कठिन भएको छ ।”

आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकल, स्थानीय बासिन्दा, गाउँपालिकाको स्काभेटर, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि खटेका छन् ।

अहिलेसम्म २० हेक्टर बढी वन क्षेत्र जलिसकेको पालिकाले जनाएको छ । आगलागीबाट करोडौँको वन पैदावारमा क्षति भएको पालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति जैसीले बताउनुभयो । “वन क्षेत्रमा दिउँसोदेखि आगलागी भएको खबर पाएलगत्तै निभाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक गर्मी भएकाले आगो धेरै फैलिरहेको छ । गर्मीको समयमा वन सुक्खा भएका बेला आगलागी हुँदा वन पैदावारमा क्षति भएको छ ।”

इलाका प्रहरी कार्यालय टीकापुरले आगलागी बस्तीतर्फ फैलन नदिन सबै नियन्त्रणमा खटिरहेको जानकारी दिएको छ । वनमा आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको बताइएको छ । कैलालीमा हरेक वर्ष गर्मीका समयमा आगलागीजस्ता घटनाले करोडौँको वन पैदावार नष्ट हुने गरेको छ ।

सामुदायिक वनहरूले आगो नियन्त्रणका लागि अग्निरेखा निर्माण, उपभोक्तालाई सचेतनाजस्ता कार्यक्रम गरे पनि बर्सेनि आगलागीका घटना न्यूनीकरण हुन सकेका छैन । गर्मी समयमा आगलागीका घटना बढ्दै गए पनि कैलालीमा अग्नि नियन्त्रणका लागि दमकल अभाव हुने गरेको छ । यस क्षेत्रमा लम्की चुहा र टीकापुरमा मात्र दमकल भएकाले यहाँका अन्य पालिकामा समेत आगलागीका घटना हुँदा समस्या हुने गरेको छ ।

भजनीका शिवबहादुर चौधरीले अर्को पालिकाको दमकल पुग्दासम्म घर जलेर नष्ट भइसक्ने भएकाले हरेक पालिकाको दमकल हुनुपर्ने बताउनुभयो । “गत वर्ष छिमेकीको घरमा आगलागी भयो, टीकापुरको दमकललाई खबर ग¥यौँ, दमकल पुग्दा घर जलेर नष्ट भइसकेको थियो”, उहाँले भन्नुभयो, “पालिकाको आफ्नै दमकल भएको भए घर जोगाउन सकिन्थ्यो ।”

टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले गर्मीको समयमा आगलागीका घटना बढी हुने भएकाले आगलागी हुँदा छिमेकी पालिकासमेतमा दमकल पठाउने गरिएको बताउनुभयो । “कहिलेकाहीँ अन्य पालिकामा दमकल पठाउँदा आफ्नो क्षेत्रमा आगलागी भइदिन्छ, यस्तो बेला समस्या हुन्छ”, उहाँले भन्नुभयो, “विपद्का समयमा निकै जोखिम हुन्छ । सबै पालिकामा दमकल भएको भए सहज हुन्थ्यो ।” रासस