६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी केबलकारको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बुटवलस्थित लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्नुहुनेभएको छ ।

आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तब्य बनेको छ ।

यसअघि यहि जेष्ठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको थियो । सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिनु भएको थियो ।

बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताउनु भएको छ । भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताउनु भयो ।

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिनुभयो ।