२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूँजीगत लाभकर नै अन्तिम कर– राजस्व महाशाखा



अ+ अ-

काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै सेयर कारोबार खुलेको छ ।

ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर सेयर लगानीकर्ताहरु कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलका लागि मन्त्रालयमा गएका थिए ।

अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ ।

“आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ,’ सूचनामा उल्लेख छ । महाशाखाले त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७।५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने स्पष्ट गरेको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसमेत सहभागी छलफलमा विगतको आय विवरण पेश गरेर कर तिर्नुपर्ने व्यवस्था कार्यान्वयन नहुने र प्राकृतिक व्यक्तिलाई पूँजीगत लाभकर नै अन्तिम कर कायम गर्ने सहमति भएपछि कारोबार सुरु हुने भएको हो ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले लगानीकर्ताहरुबाट आएको धम्की तथा चेतावनीका कारण आगामी दिनहरुमा निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महशुस गरेको प्रति सरोकारवालाहरुको विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको छ ।