• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै



file photo

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिने भएका छन् । जिल्ला अदालत काठमाडौंमा अभियुक्तविरुद्धको थुनछेक बहस आइतबारबाट सुरु हुँदै छ । थुनछेक बहस कुनै हालतमा कमजोर बनाउने पक्षमा अभियुक्त छैनन् । उनीहरूले पूर्वमहान्यायाधिवक्तादेखि बारका पूर्वअध्यक्षसम्मलाई बहसमा उतारेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा टेकराज थामीले लेख्नुभएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदै छन् । त्यसबाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् ।

पूर्व महान्यायाधिवक्ता खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । ‘खाणको पक्षबाट बहस गर्ने जिम्मा मैले पाएको छु । बहसमा चाहने अधिवक्ता धेरै छन् । जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,’ उनले भने ।

पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्षबाट बहसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन् । टोलीमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ता छन् । पूर्वमहान्यायाधिक्ता बडालले सरकारी वकिल पक्षबाट सकिनासाथ रायमाझीको पक्षबाट बहस हुने जानकारी दिए । ‘रायमाझीको पक्षबाट म पनि बहसमा उत्रिँदै छु । टोलीमा अरू पनि अधिवक्ता सहभागी छन् । यसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन्,’ उनले भने ।

सचिव टेकनारायण पाण्डेको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । अर्का हाइफ्रोफाइल अभियुक्त डा। इन्द्रजित राईको पक्षबाट बहस गर्ने अधिवक्ताको टुंगो भने लागिसकेको छैन । सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाक्तिवक्ता अच्युतमणि नेउपानेले गर्दै छन् ।