१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा एवं समर्थन फिर्ता



अ+ अ-
कोशी । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । साथै उहाँले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी गराउनुभयो ।
मन्त्री लिम्बूको राजीनामा पत्रमा विसं २०७९ पुस २५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा बनेको गठबन्धन सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रही सदन र सरकारमा पटकपटक प्रदेशको नामकरण पहिचानका आधारमा नामाङ्कन हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्नुभएको छ ।
मन्त्री लिम्बूले पहिचानवादीको मागप्रति सरकारलाई गम्भीर भई वार्ता संवादमार्फत समस्याको समाधान गर्न प्रस्ताव राख्दासमेत बेवास्ता भएको हुँदा नैतिकताका आधारमा आजको मितिबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले आगामी दिनमा प्रदेशको नामकरणविरुद्धमा हुने पहिचानवादीको आन्दोलनमा प्रत्यक्षरूपमा सहभागी हुने बताउनुभयो । पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याले पहिचानसहितको सङ्घीयताको माग सम्बोधन नभएकाले मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार समर्थन फिर्ता एवं राजीनामा दिनुभएको जानकारी दिनुभयो ।