• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने ★   चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन ★   श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै ★   ओलीसँग भिडेकै कारण मलाई गोदावरीमा निषेध गरियो: भीम रावल ★   उप—निर्वाचनको सुरक्षा तयारी पूरा

हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने



काठमाडौँ । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर्स’को प्रिमियर हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा प्रिमियर तय गरिएको जानकारी दिए ।

“हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा छौँ । यो नेपाली चलचित्रकै लागि गौरवको विषय हो किनकि त्यो चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र प्रिमियर हुन्छन्”, निर्देशक चाम्सले भने, “गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु किनकि हाम्रो वीरताको कथा विश्वले देख्ने छ ।”

उनले नेपाली चलचित्रको भइरहेको बजार विस्तारमा अब सबैले सामूहिक सहकार्यमार्फत अगाडि बढेर टेवा पु¥याउनुपर्नेमा जोड दिए । “अब हामीले मेरो वा तेरोभन्दा पनि हाम्रो भनेर अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय बजारमा हामीले सफलता पाउनेछौँ”, उनले भने ।

लगत्तै हङकङ र सिङ्गापुरमा समेत प्रिमियर गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । आयोजित पत्रकार सम्मेलनमा १६ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पालाई सम्मान गरियो ।