चितवन । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ ।
चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनु भयो । राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटोमात्रै समातेको जिकिर गर्नुभयो । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी राजनीति गर्न चाहीँ आएको होइन । राजनीति गर्न आएको होइन तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटोमात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन । आम नेपाली जनताको सेवक बन्न आएका हौँ ।’
मन्त्री घिसिङले आफू भाषण नभइ नतिजा दिने पक्षमा रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल










