२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर



अ+ अ-

भोजपुर, २९ मङ्सिरः यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आउनुभएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

“अहिले सुन्तलाको मुख्य सिजन हो,” उहाँले भन्नुभयो, “गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।”

यस क्षेत्रका करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ । सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, विर्तामोड, विराटनगर, काठमाडौँलगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।

सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ । वडाध्यक्ष राईले भन्नुभयो, “यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।”

कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो ।

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा छ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलन भइरहेको छ ।रासस