किएभ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार पूर्वी युक्रेनको लडाकु शहर लिमान नजिक युद्धप्रभावित स्थलमा पुगेर युद्धस्थलमा खटिरहेका सैनिकहरूलाई भेटी उनीहरूको समस्याबारे जानकारी लिनुभएको छ।
उनीहरूले रूसी सेनाविरुद्ध प्रतिरोध सुरु गरेका छन् र उहाँले लडाइँबारे छलफल गर्नुभएको छ।
“आज मैले यहाँ लिमान क्षेत्रमा अभियान पूरा गर्ने योद्धाहरूसँग भेटेँ र उनीहरूलाई राज्यद्वारा प्रदान गरिएको पुरस्कार प्रदान गरेँ । मैले ब्रिगेड कमाण्डरसँग पनि सैन्य एकाइले पूरा गरिरहेको मिसनबारे कुराकानी गरेको छु,” राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभयो ।
रूसले सन् २०२२ फेब्रुअरीमा आक्रमण गरेदेखि युक्रेनी नेताले बारम्बार युद्धमा अग्रपङ्तीमा रहेका क्षेत्रहरूको भ्रमण गर्दै आउनुभएको छ।
उहाँले युक्रेनी सैनिकहरूले लिमान वरपरको क्षेत्र पुनः कब्जा गरेको दावी गर्दै भन्नुभयो, “‘अपरेसन भिभाल्डी’ नाम दिएको प्रतिरोधको एक भाग हो ।”
दुवै सेना अहिलेसम्म फराकिलो सीमा ‘किल जोन’मा लगभग अघि बढ्न सकिरहेका छैनन् । यस क्षेत्रमा विस्फोटक ड्रोनहरूले आकाशबाट विद्रोहीको गतिविधि पत्ता लगाएपछि लक्ष्यमाथि आक्रमण हुने गर्छ ।
कुनै पनि पक्षका लागि दुर्लभ क्षेत्रीय लाभ ठूलो मानवीय क्षतिसँग आएका छन् ।
मस्काले आफ्नो दावी गर्दै आएको पूर्वी डोनेत्स्क क्षेत्रको सम्पूर्ण भाग कब्जा गर्न लडिरहेको छ ।
रूसले क्रामातोष्र्क र स्लोभियान्स्क लगायतका भारी रूपमा किल्लाबद्ध सीमाका शहरहरूलाई निशाना बनाएको छ । यसमध्ये धेरै वर्षौंको हवाई बमबारीले ध्वस्त भइसकेका छन्। (रासस/एएफपी)








