काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य २० रुपैयाँ ४४ पैसा बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य तत्काल नबढाउने निर्णय गरेको छ।
आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलको २० रुपैयाँ २१ पैसा, मट्टीतेलको १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनको मूल्य १८ रुपैयाँ ६६ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको छ।
तर, उपभोक्तामाथि तत्काल मूल्यवृद्धिको भार नपार्ने भन्दै निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको हो।
निगमका अनुसार मूल्य समायोजन नगर्दा १५ दिनको अवधिमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था आउनेछ।
आईओसीबाट बढेर आएको मूल्य र निगमले कायम गरेको बिक्री मूल्यबीचको अन्तरका कारण निगमको वित्तीय भार थप बढ्ने देखिएको छ।









