काठमाडाैँ । भोटेकोशी बाढी प्रभावित नुवाकोटको विदुर नगरक्षेत्रका प्रभावित बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल काठमाडौँले कोरियाली उम हङ गिल ह्युमन फाउण्डेशनको सहकार्यमा विदुर नगरपालिका–७ अक्करेस्थित तुप्चे ग्रामीण सामुदायिक स्वास्थ्य इकाइमा स्थानीय बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।
विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्शका साथै निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो ।
उहाँको अुनसार शिविरमा बाढीबाट घरबाँस गुमाएर अस्थायी संरचनामा बसोबाँस गर्दै आएका १५३ जना प्रभावित बासिन्दाले सेवा लिनुभएको छ ।
ग्राण्डी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा डा पदमराज पन्तको नेतृत्वको टोलीले स्त्री तथा प्रसूति सेवा प्रदान गरेको थियो । यस्तै, सोही अस्पतालको चिकित्सकसहितको टोलीले बालरोग सेवा, नाक, कान घाँटी सेवा, हाडजोर्नी सेवा र जनरल फिजिसियन सेवा प्रदान गरेको थियो ।
विदुर नगरपालिकासंगको समन्वयमा सञ्चालित शिविरमा जाँच गराएका बिरामीलाई चिकित्सकको सिफारिसमा आवश्यक औषधि उम हङ गिल ह्युमन फाउण्डेशन निःशुल्क उपलब्ध गराइएको थियो ।
भौगोलिक र विपद्का कारण स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भोगिरहेका समुदायलाई लक्षित गर्दै आयोजना गरिएको शिविरले स्थानीय बासिन्दालाई राहत पुगेको विदुर नगरपालिका–७ का अध्यक्ष रविन्द्र नेपालले बताउनुभयो ।








