२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार टोपबहादुरजी प्रहरीकोमा हाजिर हुने कुरा थियो तर हुनुभएन– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निलम्बित सचिव टोपबहादुर रायमाझी हिजो बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उहाँ नआउनुभएको बताउनुभएको छ ।

बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसदसमेत रहेका रायमाझी बुधबार प्रहरीकहाँ हाजिर हुने रायमाझी निकटले आफूलाई फोन गरेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए– के गर्ने भनेर, मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन।”

एमाले भ्रष्टाचारविरोधी पार्टी भएको भन्दै ओलीले कानुनी प्रक्रियालाई सघाउन रायमाझीलाई निर्देशन दिइएको बताउनुभयो।

आरोप लाग्दैमा कोही दोषी हुँदैन भन्दै उहाँले भन्नुभयो, “तर पक्राउ पुर्जी जारी नै भइसकेपछि उहाँले कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ भनेर हामीले उहाँलाई सचिवबाट निलम्बन गरेका छौँ ।”