काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा आवश्यक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन तथा चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको बताउनुभयो । उहाँले सीमामा खटिएका सुरक्षाकर्मीको आधारभूत आवश्यकता र सुरक्षा सुनिश्चित गर्न सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
गृहमन्त्री गुरुङले चालु आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन भइसकेको र अहिले कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । सीमामा कार्यरत सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सके उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी ढंगले गर्न सक्ने उहाँको भनाइ थियो ।
उहाँले खुला सीमा सीमापार अपराध नियन्त्रणका लागि मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो । सीमावर्ती क्षेत्रमा एकातर्फ निगरानी बढाउँदा अर्कोतर्फबाट अपराधी भाग्ने अवस्था रहेको भन्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी सीमा सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि ड्रोनमार्फत निगरानी गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । साथै, सीमा नाकामा फेस रिकोग्निसन प्रविधिसहितको सीसीटिभी प्रणाली जडान गरी प्रविधिमार्फत सीमा निगरानी गर्ने काम अघि बढाइएको उहाँले बताउनुभयो ।
गृहमन्त्री गुरुङले भन्नुभयो, “सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बिओपीहरूमा पूर्वाधार निर्माण गर्ने योजनाहरू छन् । सीमा सुरक्षामा खटिएको जनशक्तिको सुरक्षा गर्न सकियो भने उहाँहरूले पनि नागरिकको सुरक्षा अझ प्रभावकारी तरिकाले गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।”
उहाँले सीमा अवलोकनका क्रममा धेरै स्थानमा खुला सीमाका कारण सीमापार आपराधिक गतिविधि भइरहेको पाइएको बताउनुभयो । यस्ता गतिविधि नियन्त्रणका लागि ड्रोन निगरानी, सीसीटिभी र फेस रिकोग्निसनजस्ता आधुनिक प्रविधिको प्रयोगमा सरकारले जोड दिएको उहाँको भनाइ थियो ।
गृहमन्त्री गुरुङले सीमा स्तम्भको सुरक्षा र संरक्षणको विषयमा समेत सरकार गम्भीर रहेको बताउनुभयो ।










