• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

मेसीलाई दोस्रोपटक लौरियस अवार्ड



एजेन्सी । अर्जेन्टिना फुटबल टिमका कप्तान तथा दिग्गज फुटबल खेलाडी लियोनल मेसी लौरियस स्पोर्ट्स म्यान अफ द इयर अवार्डबाट सम्मानित भएका छन् ।

सोमबार पेरिसमा आयोजित एक कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । साथै अर्जेन्टिनाको टोली लौरियस वर्ल्ड टिम अफ द इयर घोषित भयो । योसँगै मेसी एकै समयमा स्पोर्ट्स म्यान अफ द इयर र टिम अफ द इयर दुवै पाउने पहिलो खेलाडी बनेका छन् ।

गत वर्षको अन्त्यमा भएको फिफा विश्वकप जितेकोमा मेसी र अर्जेन्टिनालाई यो सम्मान दिइएको हो । कतारमा भएको यस प्रतियोगिताको फाइनलमा मेसीले आफ्नो टोलीका लागि फाइनलमा दुई महत्वपूर्ण गोल गरेका थिए ।

विजेताको निर्णय पेनाल्टीबाट भएको थियो । निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । मेसीको करियरको यो पहिलो विश्वकप उपाधि हो ।

मेसीले दोस्रो पटक लौरियस स्पोर्ट्स म्यान अफ द इयर अवार्ड जितेका हुन् । यसअघि सन् २०२० मा उनलाई फर्मुला वन चालक लुइस ह्यामिल्टनसँगै यो अवार्ड दिइएको थियो ।

लौरियस वल्र्ड स्पोर्ट्स अवार्डका लागि खेलाडी र टोलीलाई उनीहरूको प्रदर्शनका आधारमा विश्व सञ्चार माध्यमले सबैभन्दा पहिले मनोनयन गर्ने गरेको छ । लौरियस वल्र्ड स्पोर्ट्स एकेडेमीका ७१ सदस्यले बहुमतले विभिन्न अवार्डका लागि खेलाडी र टोली छनोट गर्छन् । यस अवार्डको स्थापना सन् २००० मा भएको थियो । त्यसयता हरेक वर्ष यी अवार्ड प्रदान गरिँदै आएको छ ।