२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

मलमाथि लागेको प्रतिबन्ध फुकुवा

मलमाथि लागेको प्रतिबन्ध फुकुवा
अ अ+ अ-

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो ।

एक साताअघि धानको मुख्य सिजनमा मल वितरण गर्ने भन्दै हाल स्टकमा रहेको मल वितरण नगर्न जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडलाई प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आदेश दिनुभएको थियो ।

“कोटाभन्दा बढी मल वितरण भइसकेकाले यसको दुरुपयोग हुन सक्ने भन्दै वितरणमा रोक लगाइएको थियो, धानको मुख्य सिजनमा समस्या नआओस् भनी त्यतिबेला वितरण गर्ने भन्ने उद्देश्य थियो”,  प्रजिअ तामाङले भन्नुभयो, “तर उखु तथा मकै किसानले मल हाल्नै नपाएको गुनासो आएपछि स्टकमा रहेको मल वितरण गर्ने र थप मलका लागि आवश्यक पहल गर्ने भन्दै मल वितरण फुकुवा गरिएको हो ।” 

उखु तथा मकैमा मल छर्ने मुख्य समयमा वितरणमा रोक लगाएपछि जिल्लाका किसानहरु मारमा परेका थिए । मलको जोहोका लागि किसानहरु कृषि सहकारी संस्था, कृषि सामग्री तथा साल्ट ट्रेडिङमा धाउने गरेका थिए । मल नपाए उब्जनी घट्ने भन्दै किसानमा चिन्तित थपिएको थियो तर प्रशासनले पुनः मल वितरणको आदेश दिएपछि जिल्लाका किसानहरु खुसी भएका छन् । “उखुमा मल हाल्नुपर्ने समयमा यसको वितरणमा रोक लगाएपछि समस्या भएको थियो, अहिले फेरि मल वितरण फुकुवा भएपछि खुसी लागेको छ”, हरिवन नगरपालिकाका किसान राम पुकार महत्तोले भन्नुभयो ।

प्रशासनले मल वितरणमा रोक लगाएपछि भारतीय मलको तस्करी बढेको थियो । अनुदानको मल गोदाममा थन्किएपछि भारतबाट तस्करी गरी ल्याइएका मल बजारमा छ्यापछ्याप्ती भेटिन थालेको छ भने रु ९०० पर्ने एक बोरा युरिया मललाई किसानहरुले रु एक हजार ५०० सम्म तिर्नुपरेको थियो । तस्करहरूले किसानको वेशमा मल ल्याउने र सीमामा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने गरेको स्थानीयवासीको आरोप छ ।

जिल्लाको कृषि सामग्रीको गोदाममा युरिया तीन हजार छ बोरा, डीएपी ७८९ बोरा, पोटास ५१२ बोरा र कृषि चुन १० बोरा स्टक रहेको कम्पनीका प्रमुख दीपक थापामगरले जानकारी दिनुभयो । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमा युरिया ९०५ बोरा, डीएपी एक हजार ५५९ बोरा र पोटास ६१ बोरा गोदाममा रहेको छ । स्टकमा रहेको सबै मल भाग लगाएर सहकारी संस्थालाई वितरण प्रक्रिया अगाडि बढाइएको कृषि सामग्री कम्पनीले जनाएको छ । जिल्लामा जनप्रतिनिधिहरुको दबावमा जिल्ला प्रशासन कार्यालयले मल वितरण फुकुवा गरेको हो ।

कम्पनीका प्रमुख मगरका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असार १ गतेदेखि मल वितरण शुरु गर्ने निर्णय भएको छ । जिल्लाका किसानका लागि ७२ हजार बोरा युरिया र करिब तीन हजार बोरा डिएपी रहेको मगरले बताउनुभयो । उहाँका अनुसार जिल्लामा १५० वटा डिलर दर्ता भएका छन् । जिल्लामा हरेक वर्ष मागभन्दा बढी मल आउने गरेको कम्पनीले जनाएको छ ।