२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको एउटै गाउँमा तरकारी खेतीबाट रु दुई करोड बढीको आम्दानी



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् ।

तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट यो गाउँमा बर्सेनि करिब रु डेढदेखि रु दुई करोडभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तरकारी खेती यहाँका कृषकको जीवन नै बनिसकेको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश गएका युवा पनि गाउँ फर्किएर खेती गर्न थालेका छन् ।” उहाँका अनुसार यहाँका कृषकले वार्षिकरूपमा कम्तीमा रु दुई लाखदेखि रु १० लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्दै आएका छन् । गाउँका एक सय घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । ताजा तरकारी र बीउबिजन बिक्रीबाट प्राप्त भएको आम्दानीले यहाँका कृषकले सहरबजारमा घरघडेरीसमेत जोडेका छन् ।

विगत २७ वर्षदेखि निरन्तररूपमा ताजा तरकारी र बीउ उत्पादन गर्दै आउनुभएका गाउँका अगुवा कृषक पौडेले भन्नुभयो, “तरकारी खेतीले विदेश पुगेका युवाहरूलाई पनि गाउँ फर्काएको छ । तरकारी खेतीले गाउँनै समृद्धि बनेको छ ।” उत्पादन भएको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, बागलुङ र पर्वतको सदरमुकाम कुस्मासम्म पुग्ने उहाँले बताउनुभयो ।

परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने कृषक बलराम आचार्यले बताउनुभयो । “उत्पादन भएको तरकारी बिक्रीका लागि कुनै समस्या छैन”, उहाँले भन्नुभयो, ‘‘गाउँमै सडक आएको छ । पहिलाजस्तो डोकामा बोकेर लैजान पर्दैन । उत्पादन गर्नसके घरमै बसीबसी फोनका आधारमा तरकारी बिक्री गर्न सकिन्छ । बेमौसमी तरकारी उत्पादन गर्नसके बेनीका व्यापारी फाँटमै गाडी लिएर आउँछन् ।”

तरकारी खेतीको आम्दानीले यहाँका कृषकको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याइदिएको युवा कृषक अर्जुन पौडेलले बताउनुभयो । “आफ्नै माटोमा परिश्रम गर्दा गौरवको अनुभूति हुन्छ”, कृषक पौडेलले भन्नुभयो, “परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सल्यानका साथै बास्कोट, धरापानी र घायखेत तरकारी खेतीका लागि परिचित गाउँ हुन् ।

स्थानीय सरकारले कृषकलाई थप व्यावसायिक बनाई उत्पादन बढाउन तालिम र प्रविधिमा सहयोग गर्दैै आएको छ । तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिएको सल्यानमा कृषि ज्ञान केन्द्र पर्वतले मल, बीउ र प्रविधिमा सहयोग गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो ।रासस