२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूज एजेन्सी नेपाल आठौँ वर्षमा प्रवेश



अ+ अ-

काठमाडौ । निजी क्षेत्रको समाचार सेवा प्रदायक ‘न्यूज एजेन्सी नेपाल’ आजदेखि सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको  छ । आठौँ वर्षमा प्रवेश गरेको अबसरमा न्यूज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौडेलले बहुपक्षीय प्रभाव र जोखिम अनि आर्थिक रूपले असहज परिस्थिति सिर्जना भएको बेला  पनि सेवा प्रवाह गर्ने जिम्मेवारीबाट किञ्चित पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

 उहाँले संकटमा समयमा सहयोग गर्ने समस्त ग्राहक, सहकर्मी, शुभचिन्तक, शुभेच्छुक र हामीलाई सहयोग, सुझाव, सल्लाह प्रदान गरी माया गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।  सक्रिय सञ्चार क्षेत्रको  सातवर्षे यात्रामा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आफुलाई स्वतन्त्र र निष्पक्ष समाचार सेवा प्रदान गर्ने संस्थाको छबि बनाउन सफल भएको भन्दै उहाँले  भरपर्दो, विश्वसनीय र सत्यतथ्यमा आधारित समाचार सेवा प्रदान गर्ने  ध्येयमा आगामी दिनमा पनि सहयोग, सद्भाव तथा सकारात्मक आलोचनाको अपेक्षा गर्नुभएको छ ।

सन्देशमा उहाँले स्थापनादेखि आजसम्म आउँदा  विभिन्न चुनौती सामना गर्नुपरेको स्मरण गर्दे  बाढी, पहिरो, भूकम्प, झडपलगायत जोखिमपूर्ण अवस्थामा सधैँ अग्रभागमा रहेर सूचना प्रवाह गर्ने दायित्व पूरा गर्दै आएका स्मरण गर्नुभएको छ ।  विश्वलाई नै तहसनहस बनाएको यस महामारीको विषम परिस्थितिमा पनि  पेसागत धर्म, दायित्व र जिम्मेवारी पूरा गर्ने सवालमा निरन्तर कार्यस्थलमा सक्रिय रहने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाउनु भएको छ । 

उहाँले कर्तव्यप्रतिको जिम्मेवारीले कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्था, न्यून स्वास्थ्य सुरक्षा, कमजोर भौतिक पूर्वाधारका बीच समाचार सङ्कलन तथा छायाङ्कनका लागि अग्रस्थानमा रहेर अहोरात्र भूमिका निर्वाह गर्नुभएका सहकर्मीप्रति  व्यक्तिगत र संस्थागत रूपमा हृदयदेखि नै आभार प्रकट गर्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट एकै पटक १२ जना सहकर्मी सङ्क्रमित हुदा पनि अत्यन्तै न्यून सङ्ख्यामा रहेका साथीहरुबाट  समाचार सेवा प्रवाहमा आँच आउन नदिन देखाइएको अग्रसरता, जिम्मेवारी र कर्तव्यबोधप्रति उहाँले आभार ब्यक्त गर्नुभएको छ ।  

संकटको समयमा कर्तब्यपथमा क्रियाशिल सहकर्मीहरुलाई  गतवर्ष जस्तै यस वर्ष पनि प्रोत्साहनस्वरूप केही पारितोषिकको घोषणा गर्दे उहाले ग्राहकहरूलाई सेवामा लाग्ने न्यूनतम शुल्कमा विशेष छुटसहितको प्याकेजको पनि व्यवस्था गरेको जानकारी गराउनु भएको छ । अध्यक्ष पौडेलले  कोभिड महामारीको जोखिम कायमै रहे.का कारण सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी सुरक्षित रहन अनुरोध गर्नुभएको छ ।