२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा थप ३३ जिल्लाका ६५ ठाउँको क्रियाशील सदस्यता नामावली सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।  

समितिले सोमबार पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सदस्यता नामावली सार्वजनिक गरेको हो । 

समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसले यसअघि १०१ ठाउँका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ ।

आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजुरी, गुनासा वा सुझाव भएमा समितिमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था समेत गरिएको छ । 

आउँदो असार ६ गतेपछि प्राप्त भएका उजुरीमाथि कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ । 

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरूपमा केन्द्रीय कार्यालयमा पठाउन समेत पार्टीले निर्देशन दिएको छ ।