११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग

बागलुङका दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

बागलुङका दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता
अ अ+ अ-

ढोरपाटन । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ । भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती हो । नर्जाखानी गाउँ पुग्न थुप्रै खोलानाला पार गर्नुपर्छ । हिउँदयाममा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खायाममा करिब चार महिना सडक अवरुद्ध हुन्छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सडकको ट्रयाक खोलेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । तर बाह्रै महिना यातायात सञ्चालन नहुँदा समस्या भोग्नुपरेको छ । गाउँमा पुग्न धेरै खोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने हुँदा बर्खाको चार महिना स्थानीयले सास्ती खेप्नुपरेको छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल निर्माण गर्नुपर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेको छैन ।

वडा नं ३ को तमान, लाम्मेला गाउँ हुदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ । यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेँसीघाट र बोङ्खानीघाटमा मोटरेबल पुल आवश्यक पर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन् । विभिन्न खोलामा पुल नबन्दा स्थानीय बर्खाको समयमा यात्रा गर्न सक्दैनन् । सबै गाउँबाट पालिकाको केन्द्र आउन नौवटा पुल बन्नुपर्छ । पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या भएको छ ।

बर्खाको समयमा सडक अवरुद्ध हुँदा हिउँदमै बजारबाट सामान ढुवानी गरेर भण्डारण गरी राख्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिका–६ का पूर्वअध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यसरी हिउँदै भण्डार गरेर सामान राख्दा कुहिने र समयावधि सकिएर खान नमिल्ने हुँदा नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । छन्त्यालले पुल निर्माणमा माथिल्लो निकायले चासो नदिँदा सयौँ नागरिकले बर्खामा समस्या भोग्नुपरेको बताउनुभयो ।

“भौगोलिकरूपमा त पछाडि परेका थियौँ, विकासका हिसाबले पनि पछाडि नै परेका छौँ, सडक निर्माण भएको वर्षौँ भयो तर अहिलेसम्म कुनै पनि खोलामा पुल बनेको छैन, त्यसको प्रत्यक्ष असर हामीलाई परेको छ”, छन्त्याल भन्नुहुन्छ, “बर्खामा हिँडेर पालिकाको केन्द्रमा पुग्न तीन घन्टा बढी लाग्छ, सामान बोकेर ल्याउन सकिने अवस्था पनि हुँदैन, गाडी खोला ठूलो भयो भने बीचमै अलपत्रसमेत हुने गरेका छन्, अहिले पनि फेरि बर्खा लाग्न थाल्यो, समस्या उही छ ।”

सडकले गाउँलाई विकाससँग जोडेको भए पनि पुल नबन्दा अपूरो भएको स्थानीय जालप्रसाद छन्त्यालले बताउनुभयो । सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा, खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको उहाँको भनाइ छ । बर्खामा गाडी पनि नचल्ने र खच्चड पनि नपाइने हुँदा ग्रामीण क्षेत्रका नागरिक ठूलो समस्यामा पर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बर्खामा गाउँमा गाडी चल्दैनन्, कोही बिरामी प¥यो भने अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलाका गाउँ पुग्न धेरै भिरपहरा र खोला पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले स्थानीय तहमा नेतृत्व लिएदेखि धेरै गाउँमा सडक पु¥याए पनि पुल निर्माण गर्न नसकेको बताउनुभयो । यहाँका धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउने हुँदा पुल निर्माण गर्न नसकिएको बताउनुभयो । पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरिरहेको जानकारी दिनुभयो ।

“तमानखोलाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, बर्खामा खोलामा पानीको बहाव निकै बढ्ने हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीले सबै गाउँ र बस्तीमा ढिलो–चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउनेछौँ, एकैपटक नहोला तर पनि पुल बनाउनतर्फ लागिपरेका छौँ ।”

पालिकाको केन्द्र बोङ्गादोभानस्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको छ । गत वर्षदेखि निर्माण हुन थालेको पुलको काम सुस्त गतिमा भइरहेको छ । यहाँको पुल समयमै सकिए सयौँ नागरिकलाई पालिका केन्द्रमा आउनजान सहज हुने छ ।रासस