एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै मुम्बई आठ खेलमा आठ अंकका साथ सातौ स्थानमा उक्लिएको छ ।
राजस्थानले दिएको २१३ रनको लक्ष्य मुम्बईले तीन बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक भएकोमा टीम डेबिडले पहिलो तीन बलमा तीन छक्का प्रहार गर्दै जित सुनिश्चित गरे ।
मुम्बईको जितसँगै राजस्थानका लागि यशस्वी जयसवालले बनाएको १२४ रन ओझेलमा पर्यो । पहिले ब्याटिङ गरेको राजस्थानले जयसवालको शतकीय पारीको सहयोगमा मुम्बई सामू ठूलो लक्ष्य प्रस्तुत गरेको थियो । राजस्थानका लागि अरु कुनै पनि ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।
मुम्बईको जितमा इशान किसनले २८, क्यामरन ग्रीनले ४४ र सूर्यकुमारले ५५ रन बनाए । साथै तिलक बर्माले २९ र टीम डेभिडले १४ बलमा ५ छक्का र दुई चौका प्रहार गर्दै ४५ रन बनाए ।










