३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’

अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’
अ+ अ-

पोखरा: पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६, अस्ताम गाउँ शुक्रवार एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुशी र कौतुहलता छायो भने अर्कोतिर वर्षौंदेखि थाती रहेका आधारभुत समस्याहरू प्रधानमन्त्रीसमक्ष पु-याउने व्यग्र उत्कण्ठा देखियो ।

शुक्रवार बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीहरूको आवागमन बाक्लिएपछि मात्र स्थानीयले आफ्नै गाउँमा प्रधानमन्त्री आउँदै गरेको सुइँको पाएका थिए । स्थानीय बासिन्दाहरू आफ्ना घरआँगन र सडक छेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र आफ्ना मनका कुरा सुनाउन व्यग्र प्रतिक्षा गरिरहेका थिए ।

प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध ‘अन्नपूर्ण इको भिलेज’ मा बस्ने तालिका रहेको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा उत्साहित देखिए ।

बाटो छेउमा भेटिनुभएकी स्थानीय ज्ञानु अधिकारीले भन्नुभयो, ‘बिहान सुरक्षाकर्मी आएपछि मात्र थाहा भयो । पुराना दलहरूलाई वर्षौं भोट दियौँ तर केही भएन।  अब नयाँ नेतृत्वले देश र जनताका लागि केही राम्रो गर्छन् कि भन्ने ठूलो आश छ । उहाँलाई गाडीबाटै भएपनि एक नजर देख्न पाउँ भनेर कुरिरहेका छौँ ।’

उहाँले नयाँ राजनीतिक दलहरुले राम्रो काम गर्नुपर्ने बताउनु भयो । अपराध गर्नेलाई विदेशमा जस्तै कडा भन्दा कडा कारबाही गर्नुपर्ने उहाँको सुझाव छ ।  उहाँले भन्नुभयो, ‘पुरानालाई अब फालियो, नयाँहरुले राम्रो गर्नुहुन्छ कि भन्ने आशा छ । तर अपराध गर्नेलाई विदेशमा जस्तै कडाभन्दा कडा कारबाही गर्ने कानून बन्नुपर्छ ।’

अस्ताम गाउँ भौगोलिक रूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिंचाइको अभाव हो । विश्वविद्यालयका प्राध्यापक तथा स्थानीय होटल व्यवसायीका अभिभावक नन्दलाल अधिकारीकाअनुसार यहाँका बहुसंख्यक बासिन्दाहरू किसान हुन् तर पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको छ ।

‘यो ठाउँ एकदम उच्च भागमा भएकाले मुख्य रूपमा खानेपानीकै ठूलो समस्या छ । हामीले पोखराको नजिकै भएर पनि सिंचाई अभावमा तरकारी खेती विस्तार गर्न सकेका छैनौँ । यदि सरकारले यहाँ व्यवस्थित खानेपानी र सिंचाई योजना ल्याइदिने हो भने कृषकहरूले उत्पादन गरेको ताजा तरकारी यहीँका होटल र नजिकैको पोखरा बजारमा सहजै बेचेर आत्मनिर्भर बन्न सक्छन् ।’ अधिकारीले स्पष्ट पार्नुभयो ।

खानेपानी नभएको ठाउँमा पानी बिना तरकारी खेती सम्भव नरहेको बताउनु भयो । उहाँले पोखराको नजिकै रहेकाले पानीको व्यवस्थापन भए कृषक आर्थिक रुपमा समृद्ध हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खानेपानी त पुग्दैन भने पानी नभई तरकारी खेती सम्भव नै छैन । पोखराको नजिकै भएकाले यहाँ पानीको व्यवस्थापन भए कृषकहरू आर्थिक रूपमा समृद्ध बन्नेछन् ।’

पोखराबाट छोटो दूरीमै रहेको भएपनि अस्ताम पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो अवस्थामा छ । स्थानीय रामप्रसाद अधिकारी र शोभाखर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

स्थानीय अधिकारीले भन्नुभयो, ‘हाम्रो मुख्य अपेक्षा भनेको बाटो नै हो । बर्खामा त पानीको जोहो हुन्छ तर हिउँदमा काकाकुल हुनुपर्छ । अप्ठ्यारो बाटोले गर्दा बिरामी पर्दा अस्पताल पु¥याउन समेत गाह्रो छ ।’ 

अर्का स्थानीय शोभाखर अधिकारीले भन्नुभयो, ‘अहिलेसम्म यहाँ कुनै प्रधानमन्त्री आउनुभएको थिएन । अहिले बालेनज्यू आउनुभएको छ, उहाँले हाम्रो यो अप्ठ्यारो बाटो कालोपत्रे गरिदिए र पानीको धारा जोडिदिए हामी गाउँलेको ठूलो कल्याण हुनेथियो ।  प्रधानमन्त्री हाम्रो गाउँमा आएर नजर राखिदिनुभएकोमा हामी ज्यादै खुशी छौँ । उहाँले हाम्रो बाटो र पानीको समस्या बुझेर काम गरिदिए हामी सधैँ आभारी रहनेछौँ ।’

अस्ताम केवल समस्याको गाउँ मात्र होइन, यो प्रकृतिको अनुपम वरदान पाएको स्वर्ग जस्तै पर्यटकीय गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे हिमाल ऐनामा जस्तै छर्लङ्ग र नजिकै देखिन्छ । यसका साथै अन्नपूर्ण रेन्ज, मनास्लु रेन्ज र धौलागिरी हिमशृङ्खलालाई एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ । प्राध्यापक नन्दलाल अधिकारीकाअनुसार पोखरामा चर्को गर्मी हुँदा पनि अस्ताममा वर्षैभरि शीतल हावापानी रहने भएकाले यो विदेशी तथा आन्तरिक पर्यटकका लागि योग, ध्यान र प्रकृतिको आनन्द लिने उत्कृष्ट केन्द्र बनेको छ । यहाँ रहेका प्राकृतिक ओडार र गुफाहरूको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदको पूर्वाधार निर्माण गर्नसके यसले समग्र देशकै अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने स्थानीयको दृढ विश्वास छ ।

प्रधानमन्त्रीको भ्रमणमा विकास निर्माणका माग मात्र उठेनन्, गाउँले महिलाहरूले देशको शान्ति सुरक्षा र न्याय प्रणालीप्रति समेत गम्भीर चासो व्यक्त गरे । स्थानीय ज्ञानु अधिकारीले देशमा बढ्दो अपराध, बालिका तथा महिला हिंसाप्रति आक्रोश पोख्दै कडा कानुन कार्यान्वयनको माग गर्नुभयो ।
‘देशमा साना नानीहरूको बलात्कार र हत्या जस्ता जघन्य अपराध गर्नेहरूलाई जेलमा मात्र थुनेर पुग्दैन, विदेशमा जस्तै कठोरभन्दा कठोर सजाय दिने कानून बनोस् । बालेनज्यूबाट हामीले सुशासन र कानूनी कडाइको ठूलो आशा राखेका छौँ ।’ उहाँले भन्नुभयो । 

पोखराको काखमा रहेको अस्ताम गाउँले प्रधानमन्त्री बालेन्द्र साहको बसाइबाट नयाँ आशाको किरण देखेको छ । प्राकृतिक रूपमा धनी तर पूर्वाधारमा पछाडि परेको अस्तामबासीको यो आवाज–‘पानी, बाटो र न्याय’–सिंहदरबारको नीति तथा कार्यक्रममा कसरी प्रतिविम्बित हुन्छ, त्यो भने आगामी दिनमा प्रधानमन्त्रीको कदमले नै प्रष्ट पार्नेछ । –न्युज एजेन्सी नेपाल