काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नगर्न सहमत हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उहाँ एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो ।
आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटी एमसीसी टेबल नगर्न आग्रह गर्नुभएको थियो । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन नगरी एमसीसी पारित गर्न नहुने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबल गर्न खोजे सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन भत्किने डरले एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो ।
संसदीय दलको बैठक सकिएपछि दलको निर्णय सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । उहाँले प्रधानमन्त्री देउवालाई एमसीसी टेबल भए सत्ता गठबन्धनबाट बाहिरिने बताउनुभएको थियो । सत्ता गठबन्धनमा माओवादी केन्द्रसँगै नेकपा (एकीकृत समाजवादी) पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने पक्षमा रहेको छ । यद्यपि उसको अहिलेसम्म स्पष्ट धारणा आएको छैन ।
यसैबीच प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे अधिकतम सहमति कायम गर्न भोलि बिहीबार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।