काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईबिरुद्ध नेपालको लज्जास्पद हार भएको छ ।
जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाएर अल आउट भयो ।
नेपालका लागि कुशल मल्लले अर्धसतक बनाए । मल्लले ४६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरेका थिए । उनी मियाप्पाको बलमा मुस्ताफाको हातबाट क्याच आउट भए ।
यस्तै, दिपेन्द्र सिङ २२ बलमा ७ रन बनाएर आउट भए भने आसिफ शेख १६ बलमा १७ रन बनाएर क्याच आउट भए ।सन्दीप लामिछानेले २७ रन बनाउदा ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र अरीफ शेख शुन्य रनमा आउट भए । सोम्पाल कामि चार रन बनाएर आउट भए ।
यूएईको लागि रोहन मुस्तफाले तीन विकेट लिए । जुनेड सिद्दीकि र कार्तिकले समान दुई दुई विकेट लिए । सबिर अलि र आर्यान लाक्राले एक एक विकेट लिए ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।
यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रन बनाए ।
नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।