१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकवर्षदेखि ओढारको बास



अ+ अ-

म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहाँले बताउनुभयो ।

“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उहाँले भन्नुभयो, “उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।”

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको छ । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । उहाँ सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गर्नुभएको छ । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न सक्नुहुन्छ ।

“ राहुल विक मेरो भँैसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो”, कुरिलाखर्कका सुरेस ढुङ्गानाले भन्नुभयो, “उहाँ काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।”

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्नुहुन्छ । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ । उहाँलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताउनुभयो । “ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो”, उहाँले भन्नुभयो, “अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।” रासस