• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

एकवर्षदेखि ओढारको बास



म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहाँले बताउनुभयो ।

“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उहाँले भन्नुभयो, “उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।”

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको छ । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । उहाँ सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गर्नुभएको छ । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न सक्नुहुन्छ ।

“ राहुल विक मेरो भँैसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो”, कुरिलाखर्कका सुरेस ढुङ्गानाले भन्नुभयो, “उहाँ काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।”

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्नुहुन्छ । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ । उहाँलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताउनुभयो । “ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो”, उहाँले भन्नुभयो, “अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।” रासस