७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध
तस्बिर: एपी
अ+ अ-

हङकङ। संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय सुरक्षामा जोखिम पर्न सक्ने भन्दै विदेशी निर्मित नयाँ ह्युमनोइड रोबोट (मानव आकारका रोबोट) र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यो कदम मुख्यतः चीनलाई लक्षित रहेको देखिएको छ । चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी भन्दै आलोचना गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ताको पूर्वसन्ध्यामा आएको यस कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने देखिएको छ । विश्वव्यापी ह्युमनोइड रोबोट बजारमा चीनको हिस्सा करिब ८५ प्रतिशत रहेको छ ।

एफसीसीको प्रतिबन्धमा चार खुट्टे ‘क्वाड्रुपेड’ रोबोट अर्थात् ‘रोबोट कुकुर’को नयाँ आयातसमेत समेटिएको छ । आयोगले यस्ता उपकरणबाट साइबर सुरक्षा र राष्ट्रिय सुरक्षामा जोखिम बढ्न सक्ने जनाएको छ ।
पावर इन्भर्टरले प्रत्यक्ष विद्युत् प्रवाह (डीसी)लाई वैकल्पिक विद्युत् प्रवाह (एसी)मा रूपान्तरण गर्छ । यसको प्रयोग नवीकरणीय ऊर्जा प्रणाली, डाटा सेन्टर तथा घरायसी उपकरणमा हुने भएकाले यसमा लगाइएको प्रतिबन्धको प्रभाव व्यापक हुन सक्ने बताइएको छ ।
एफसीसीका अध्यक्ष ब्रेन्डन कारले मङ्गलबार प्रतिबन्धको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति शृङ्खलालाई सुरक्षित गर्नु रहेको बताउनुभएको छ । उहाँका अनुसार प्रतिबन्ध आयात गरिने यस्ता उपकरणका नयाँ संस्करणमा लागू हुनेछ ।

यो कदम चीनबाट आयात हुने ड्रोनलगायतका प्रविधिमा अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध तथा चीनमा अमेरिकी उन्नत प्रविधिको निर्यातमा लगाइएको नियन्त्रणकै निरन्तरता हो । अमेरिकी सरकारले चिनियाँ ‘ओपन–सोर्स’ कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रयोगमा समेत नियन्त्रण गर्ने विषयमा विचार गरिरहेको छ ।

चीनले प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिमार्फत रोबोटको प्रयोग तीव्र रूपमा विस्तार गरिरहेको छ । मोर्गन स्टेनलीका विश्लेषकका अनुसार सन् २०३० सम्ममा चीनको ह्युमनोइड रोबोट बजार १५ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्छ ।

मर्निङस्टारकी विश्लेषक काङ्युक्सियाओ लीका अनुसार चिनियाँ उत्पादकले विदेशी प्रतिस्पर्धीको तुलनामा तीव्र गतिमा उत्पादन बढाउँदै लागत घटाइरहेका छन् । उहाँले अमेरिकामा चिनियाँ रोबोटको पहुँच सीमित गर्दा अमेरिकी विकासकर्तालाई मूल्य प्रतिस्पर्धाबाट केही राहत मिल्ने भए पनि चीनको समग्र रोबोट उद्योगमा ठूलो असर नपर्ने बताउनुभयो ।

प्रविधि अनुसन्धान तथा परामर्श समूह ओमडियाका अनुसार सन् २०२५ मा विश्वभर पठाइएका करिब १५ हजार ह्युमनोइड रोबोटमध्ये चीनका दुई प्रमुख कम्पनी युनिट्री र एजीआइबोटले पाँच–पाँच हजारभन्दा बढी रोबोट पठाएका थिए । अमेरिकाका टेस्ला र फिगर एआइजस्ता कम्पनीले भने केही सय वा त्यसभन्दा कम रोबोट पठाएका थिए ।

पावर इन्भर्टरमाथिको प्रतिबन्धले अमेरिकी बजारमा भने सीमित प्रभाव पार्ने मर्निङस्टारका अर्का विश्लेषक चेङ वाङले बताउनुभयो । उहाँका अनुसार यसले पहिले नै स्वीकृत चिनियाँ उपकरणको निरन्तर प्रयोग वा बिक्रीमा तत्काल असर नपार्न सक्छ ।

चीनद्वारा अमेरिकी कदमको आलोचना
चीनको विदेश मन्त्रालयले अमेरिकी कदमको आलोचना गर्दै वासिङ्टनले चिनियाँ कम्पनीलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गरेको आरोप लगाएको छ ।

चिनियाँ व्यवसायको वैध अधिकार र हितको रक्षा गर्न चीनले आवश्यक सबै उपाय अपनाउने मन्त्रालयले जनाएको छ ।

“संरक्षणवादले अमेरिकालाई थप प्रतिस्पर्धी बनाउँदैन । यसले अमेरिकी कम्पनी र उपभोक्ताको हितमा मात्र क्षति पु¥याउनेछ,” मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।

ओमडियाका प्रमुख विश्लेषक लियान जे सुका अनुसार नयाँ प्रतिबन्धले अमेरिकी र चिनियाँ प्रविधि कम्पनीबीचको सहकार्यमा असर पार्न सक्छ । एनभिडियाले गत जुनमा चीनको युनिट्रीले निर्माण गरेको ह्युमनोइड रोबोटको चेसिस प्रयोग गर्ने रोबोटसम्बन्धी सन्दर्भ डिजाइन सार्वजनिक गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले हालै युनिट्रीलगायत केही प्रमुख चिनियाँ प्रविधि कम्पनीलाई चिनियाँ सेनासँग सम्बन्ध वा सहकार्य रहेको आरोप लागेका कम्पनीको सूचीमा राखेको छ । चीनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । (रासस/एपी)