२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल र दीपेन्द्रको दमदार प्रदर्शनमा स्कटल्याण्डविरुद्ध नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली नेपालले दोस्रो जित निकालेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो पटक स्कटल्याण्डविरुद्ध खेलेको नेपाललाई जित दिलाउन दिपेन्द्र सिंह ऐरीले ११६ बलमा ८५ रनसहित अविजित रहे । ऐरीले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले ६७ बलमा ८१ रन जोडे । उनले ९ चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामी ३२ बलमा २४ रनसहित अविजित रहँदा गुल्शन झाले २८ बलमा १७ रन जोडे । यस्तै कुशल भुर्तेलले ८ बलमा १६ रनको योगदान दिए ।

स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले ३–३ विकेट लिए भने माइकल लिस्कको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७४ रन जोडेको थियो ।

स्कटल्याण्डका लागि माईकल लिस्कले सानदार शतक प्रहार गरे । माईकलले ८५ बलमा ३ चौका तथा ९ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले ।

यस्तै, नेपालविरुद्धको आजको खेलबाट डेब्यु गरेका ज्याक जार्किभले २६ रन जोडे । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ रन बनाए । टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाउदा कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए ।

नेपालले बलिङको लागि चार जना स्पिनर प्रयोग गरेको थियो । सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । यस्तै, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

अब घरेलु टोली नेपालले भोलि शनिबार नामिबिया र मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।

स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा यथावत छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै, नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा रहँदा युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा रहेको छ भने पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोलीले सोझै ग्लोबलमा छनोट खेल्नेछन् भने बाँकी चार टोलीले प्लेअफ खेल्नेछन् ।