३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकर्षक तलबको लोभमा कुवेत पुर्‍याइ मानसिक र शारीरिक यातना दिने दुई जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमडौँ । आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो ।

ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा युएई हुँदै कुवेत पुर्‍याएका थिए ।

कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ । त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन् ।

हाल कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र सो कुराको रेकर्ड पीडितका श्रीमान्लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ ।

उनीहरुले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्यूरोले जानकारी दिएको छ । रासस