काठमाडौँ। सडक विभागले बाढीपहिरोका कारण क्षतिग्रस्त कृष्णभीरमा सात दिनको निरन्तर कामपछि यातायात सञ्चालन गर्न सकिने अवस्था तयार भएको जनाएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बिहीवार बिहान ६ बजेदेखि कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा भएको जानकारी दिनुभएको हो ।
उहाँकाअनुसार पछिल्लो बाढीपहिरो असाधारण स्तरको विपद् थियो । पृथ्वीराजमार्ग तथा गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकमा यसको ठूलो प्रभाव परेको उहाँले बताउनु भयो ।
बाढीको पहिलो दिन ठूलो क्षति नभए पनि दोस्रो र तेस्रो दिन खोलाले सडकतर्फ कटान गर्न थालेपछि कृष्णभीरसहित विभिन्न स्थानमा समस्या देखिएको जैसीले बताउनु भयो ।
कृष्णभीरमा यसअघि पनि पहिरोको समस्या देखिँदै आएको उल्लेख गर्दै उहाँले पुरानो सपोर्टिङ टो–वाल खोलाले बगाएपछि यसपटक थप जोखिम सिर्जना भएको बताउनु भयो ।
समस्या देखिएलगत्तै भूगर्भविद्, जियोटेक्निकल विज्ञ तथा सडक निर्माणमा अनुभवी प्राविधिकसँग आकस्मिक छलफल गरेर तत्काल आधारभूत डिजाइन तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
विभागले उपलब्ध स्रोतसाधन परिचालन गरी काम शुरु गरेको सात दिनमै सडकलाई सुरक्षित अवस्थामा ल्याउन सफल भएको उहाँको दाबी छ ।
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’
बाढीपहिरोपछि पृथ्वीराजमार्गको दीर्घकालीन अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने अवस्था नरहेको महानिर्देशक जैसीले बताउनु भयो । तर पछिल्लो विपद्बाट वैकल्पिक सडकको आवश्यकता अझ स्पष्ट भएको भन्दै विभागले वैकल्पिक मार्ग निर्माणलाई तिब्रता दिने उहाँले बताउनु भयो । कृष्णभीरको जोखिम भविष्यमा पनि रहन सक्ने भएकाले वैकल्पिक सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइने उहाँको भनाइ छ ।
दुई साताभित्र बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी जोड्ने लक्ष्य
विभागले बेत्रावती हुँदै धुन्चे–स्याफ्रुबेँसी सडकलाई करिव दुई साताभित्र जोड्ने लक्ष्यसहित काम अघि बढाइरहेको जैसीले बताउनु भयो । स्याफ्रुबेँसीपछि रसुवागढीसम्म जोड्न स्याफ्रुबेँसीमा ल्याइने बेलीब्रिजलाई समेत प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । बेत्रावतीमा बेलीब्रिज राख्ने तथा बेत्रावतीतर्फको ठूलो भीरमा भइरहेको काम सम्पन्न भएपछि रसुवातर्फको सडकलाई थप प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ छ । रसुवागढीतर्फको दीर्घकालीन सडक कुन तहबाट र कति लगानीमा निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन गरिने र त्यसमा चीनसँगको सरकारको नीतिसमेत जोडिने जैसीले बताउनु भयो ।
कृष्णभीरमा फेरि पहिरो गए वैकल्पिक रुट प्रयोग गरिने
कृष्णभीरमा पानी पर्दा पुनः पहिरो जाने सम्भावनालाई ध्यानमा राखेर विभागले वैकल्पिक मार्गलाई तयारी अवस्थामा राख्ने जनाएको छ । जैसीकाअनुसार कान्ति लोकपथ, त्रिभुवन राजपथ तथा अन्य वैकल्पिक मार्गमा यसअघि देखिएका समस्या पहिचान गरी सुधारको काम अघि बढाइनेछ । माझिटारबाट फुर्के खोलातर्फ हुँदै धादिङबेँसी जाने मार्ग, गल्छीबाट त्रिशूलीतर्फ जाने सडक तथा धुन्चेतर्फका वैकल्पिक मार्गलाई पनि प्राथमिकताका साथ अघि बढाइने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल









