२१ असार २०८३, आईतवार
,
Latest
किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई भत्कायो : प्रवक्ता ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभएको छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभएको हो । उहाँले आजको बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका तिनवटा अंगहरु विचको शक्ति सन्तुलनलाई हल्लाईदिने काम गरेको साझा निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा एमाले स्थायी कमिटीका उपलब्ध कमरेडहरुको बिचमा आज हामीले अनौपचारिक छलफलहरु गरेका छौँ । मुख्यतया आज सर्वोच्च अदालतबाट भएको फैसला र यसबाट उत्पन्न गम्भिर परिस्थितिको बारेमा हामीले विभिन्न कमरेडहरुका धारणाहरु बुझ्ने काम गरेका छौँ । उपस्थित सबै कमरेडहरुको एउटा साझा दृष्टिकोण के रहेको छ भने यो फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीको आधारभुत संरचनाहरुलाई निकै खल्बल्याउने काम गरेको छ । कुनैपनि लोकतन्त्र शक्तिपृथकिकरणका नियन्त्रण र सन्तुलनका सिद्धान्त माथि उभिएको हुन्छ । 

राज्यका तिनवटा अंगहरु विधायिका, कार्यपालिका, न्यायपालिका बिचको सन्तुलन र समन्वयले मात्रै लोकतान्त्रिक प्रणाली दिगो र टिकाउ हुन सक्छ । तर आजको फैसलाले यो शक्ति सन्तुलनका पिल्लरहरुलाई एकदमै हल्लाईदिने कामहरु गरेको छ । हामीकहाँ सरकार बनाउने संविधानको आफ्नै व्यवस्थाहरु छन् । संसदमा उपस्थित दलहरुले आफ्नो सामथ्र्यका आधारमा सरकार बनाउँछन् । सरकार बनाउने प्रक्रिया शुरु गर्छन् र त्यो सम्मानित राष्ट्रपति संस्थाबाट त्यसको विधिवत् घोषणा हुन्छ । तर आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नेजस्तो सामान्यतया लोकतन्त्रमा कल्पनाभन्दा बाहिरको अभ्यास आजबाट शुरु भएको छ । गएको ७० वर्षदेखि हामी दलीय व्यवस्थाका लागि लडेका छौँ । दलहरुको स्वतन्त्रताका लागि आवाज उठाउँदा कयौँको ज्यान गएको छ । कयौँ भुमिगत बस्नुपरेको छ । कयौँ जेल जानुपरेको छ । कयौँ निर्वासित हुनुभएको छ । ०७ सालमा सामान्यतया तर ०४६ सालपछि हामीले दलविहिन व्यवस्थालाई समाप्त पारेर, निर्दलीय व्यवस्थालाई समाप्त पारेर दलहरु जनताको प्रतिनिधिको रुपमा उपस्थित हुने, आवधिक निर्वाचनमा जाने र जनताले पत्याएको दलले शासन चलाउने एउटा प्रणाली हामीले अवलम्वन गर्दै आएका छौँ । तर सर्वोच्च अदालतको आजको फैसला र विशेष गरेर धारा ७६ को (५) को जुन ढंगले व्याख्या गरेको छ । मैले दुखका साथ भन्नुपर्छ ३२ वर्ष अगाडी हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष हामीलाई भएको छ । 

सारमा यो फैसलाले हाम्रो लोकतान्त्रिक प्रणाली, संसदीय प्रणालीका आधारभुत संरचनाहरुलाई यसले खल्बल्याउने काम गरेको छ । यसको बारेमा औपचारिक दृष्टिकोण बनाउनका लागि स्थायि कमिटी बैठक भोली बस्दैछौँ र त्यो बैठकपछि हामी औपचारिक धारण लिएर यहाँहरु समक्ष आउनेनै छौँ । सर्वोच्च अदालतको फैसला जतिसुकै अप्रिय भएपनि, त्रुटीपूर्ण भएपनि विधिको शासन पालना गर्ने पार्टी हुनुको नाताले फैसलाको कार्यान्वयन त हामी गर्छौ तर यसले जुन दिशातिर मुलुकको राष्ट्रिय राजनीतिलाई र प्रणालीलाई लग्न खोजेको छ हामी एकदमै चिन्तित भएका छौँ ।’
प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भएपनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताउनुभयो ।