२१ असार २०८३, आईतवार
,
Latest
किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साल्मे–फाप्लु सडक मर्मत नसकिँदै भत्कियो



अ+ अ-

सोलुखुम्बु । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ । साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नुहँदै भत्किन थालेको  प्रत्यक्षदर्शीले बताएका छन् । 

शैशाख शुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताउनुभयो । सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुणस्तरीय नभएको यात्रुको दावी छ ।
 
कार्यालयका अनुसार ओखलढुङ्गाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको सडक मर्मतको कार्य अहिले ६० प्रतिशत सकिएको छ । यद्यपि असारमा बजेट सिध्याउने बहानामा गुणस्तरीय काम नभएको चालक तथा यात्रुको भनाइ छ ।  
 
बर्खाको समयमा बजेट खर्च गर्नकै लागि निर्माण गरेको जस्तो देखिने विकास निर्माणमा अनुगमन फितलो हुनु र ठेकेदार  कम्पनीले समेत गुणस्तरीयतामा ध्यान दिनुपर्ने दायित्व नबुझ्दा समस्या हुनेगरेको सोलु दुधकुण्ड नगरपालिका–४ का फुरी लामाको भनाइ छ ।
 
सडक मर्मत कार्य सम्पन नभई भत्किनुले समग्र जिल्लामा हुने विकासको गुणस्तरीयतामा प्रश्न गर्ने प्रशस्त आधार खडा भएको स्थानीयवासीको भनाइ छ । नगरपालिकाका जनप्रतिनिधिदेखि जिल्लाका उच्च ओहोदाका अधिकारीले दैनिकरूपमा अनुगमन गर्न सक्ने भए पनि त्यो नहुनु र निर्माण कम्पनीले योजना सम्पन्न गर्नेतर्फ मात्र ध्यान दिँदा मर्मत गरिएको सडक भत्किएको थुलुङ दुधकोशी गाउँपालिका–५ का तेजबहादुर बस्नेतले बताउनुभयो ।

रु पाँच करोड ९६ लाखको लागतमा गत वैशाखबाट साल्मे–फाप्लु खण्डमा मर्मतको काम भइरहेको छ । महालक्ष्मी भुजेल जेभीले कालोपत्रे सडक टालटुल गर्ने, ड्रेन, कज वे र पर्खाल निर्माण तथा मर्मतलगायतको कामको जिम्मा लिएको छ ।  

यता सडक मर्मतको काममा कमजोरी भएको स्वयं निर्माण कम्पनीले पनि स्वीकार गरेको छ । कम्पनीका प्रतिनिधि सुदीप सुनुवारले भत्किएको  सडक पुनः मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बर्खायाममा काम शुरु भएकाले कालोपत्रे उप्किएको र ठाउँठाउँमा पहिरोसमेत खसेको उहाँको भनाइ छ ।

मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको सडकका विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले तत्काल त्यसको अनुगमन गरी कमजोरी पाइएको खण्डमा पुनः काम गर्न कम्पनीलाई निर्देशन दिइने बताउनुभयो ।