१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोप हुँदै महाकालीको ‘महाशेर माछा’



अ+ अ-

दोधारा चाँदनी । एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ ।

माछाका विभिन्न प्रजातिमध्येको एक प्रजाति ‘महाशेर माछा’ आजभोलि महाकाली नदीमा मुस्किलले पाइन्छ । देख्नमा आकर्षक, तौल धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले माछाको राजाका रुपमा समेत महाशेरलाई चिन्ने गरिन्छ । पछिल्लो समय महाकाली नदीमा उक्त माछा मात्रै नभई अन्य माछासमेत पाउन छाडेको बताइन्छ ।

आठ वर्षदेखि माछा मार्ने ठेक्का लिँदै आउनुभएका यहाँका माछा व्यवसायी जगत सिंहले पछिल्लो समय महाकाली नदीमा फाट्टफुट रुपमा मात्रै महाशेर माछा पाउने गरेको बताए । “अहिले महाशेर मात्रै होइन अन्य माछा पनि धेरै कम पाइन थालेका छन्”, उनले भने, “नदीमा ताल नहुनु र अनियन्त्रित रुपमा नदी उत्खननले पनि माछा लोप हुन थालेका छन् ।”

महाकाली किनारका अधिकांश मानिसले माछा मारेर जीवकोपार्जन गर्ने गरेका छन् । नदीमा माछा न्यून पाउन थालेपछि व्यवसायीसमेत चिन्तित बनेका छन् । एक दशकअघिसम्म महाकालीमा एउटै एक÷डेढ क्विन्टलभन्दा ठूलो तौल भएको महाशेर भेट्न सकिन्थ्यो । अहिले १०÷१५ किलोग्रामका महाशेर पनि भेटिन गाह्रो हुने गरेको माछा व्यवसायी बताउँछन् ।

“पहिला महाकाली नदीमा एउटै महाशेर क्विन्टलसम्मको भेटिन्थ्यो”, स्थानीय कालु सुनाहाले भने, “केही वर्षयता थोरै मात्रामा महाशेर माछा पाइन्छ, त्यो पनि १०/१५ किलोको मात्रै ।” महाकाली नदीमा अनियन्त्रित ढङ्गले माछा मार्ने क्रम पनि बढ्दै गएकाले महाशेर लोप हुन थालेको बताइन्छ ।

तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले महाकालीमा महाशेर लोपोन्मुख अवस्थामा रहेको बताए । “महाशेर माछा विश्वमै दुर्लभ प्रजातिको माछा हो, यो लोप हुने अवस्थामा छ”, उनले भने, “पछिल्लो समय अनियन्त्रित रुपमा माछा मार्ने गतिविधिका कारण यो प्रजाति लोप हुने अवस्थामा पुगेको हो ।”

उनका अनुसार २०२० मा गरिएको अध्ययनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै लोपोन्मुख प्रजातिसहितका माछा रहेको पाइएको हो । त्यसमा महाकालीको महाशेर माछा पनि छ । महाकालीको आकर्षणका रुपमा रहेको महाशेर माछा संरक्षण गरेर जलीय जैविक विविधता कायम राख्नाका साथै जल पर्यटनलाई समेत टेवा पुग्ने उनले बताए ।