११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
अ अ+ अ-

भोजपुर । सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, तथा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ ।

टेम्केमैयुङ–५ खावा केराबारीका चण्डालकुमार राईले यो व्यावसायबाट राम्रो आम्दानी गरिरहेको बताउनुभयो । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएको छु”, कृषक राईले भन्नुभयो, “व्यावसायिक रुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, मेरो बगानमा चार सय बोट सुन्तलाका छन् ।”

राईले ४४ वर्षअघिदेखि सुन्तला व्यवसायमा लागेको बताउनुभयो । सुन्तला खेती किसानहरुको पेन्सनका रुपमा लिन सकिने उहाँको भनाइ छ । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उहाँको भनाइ छ । “सुन्तला खेती बुढेसकालको सहारा बनेको छ”, उहाँले भन्नुभयो, “एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्य रुपमा बगानको हेरचाह मात्र गरे धेरै दुःख गर्न पर्दैन ।”

व्यावसायिक सुन्तला खेतीमा लाग्नुभएका उहाँ विभिन्न समयमा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत बन्नुभएको छ । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेका छन् । आफैँले बिक्री गर्न बजारसम्म लैजान सके राम्रो मूल्य लिन सकिने उहाँको भनाइ छ । यहाँको सुन्तलाको मुख्य बजार धरान, इटहरी, विराटनगर र काठमाडौँ रहेको राईले बताउनुभयो । “यहाँको सुन्तलाको बजारमा राम्रो माग छ”, उहाँले भन्नुभयो, “मुख्य रुपमा धरान, इटहरी, विराटनगर र काठमाडौँ जान्छ, उत्पादन भएको सुन्तला बिक्री गर्न कुनै समस्या छैन ।”

यो क्षेत्रका अधिकांश किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेको स्थानीय किसान देवराज राईले बताउनुभयो । खावा केराबारीका किसानले मुख्य आम्दानीको स्रोतका रुपमा सुन्तलालाई बनाएको उहाँको भनाइ छ । यहाँको सुन्तलाको बजारमा राम्रो माग रहेको किसान राईले जानकारी दिनुभयो । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले केराबारीको सुन्तलाको बजारमा छुट्टै स्थान रहेको उहाँले बताउनुभयो ।

“यहाँका ७० बढी घरपरिवारको मुख्य आम्दानीको स्रोत सुन्तला हो”, उहाँले भन्नुभयो, “सुन्तलाबाट राम्रो आम्दानी गरिरहेका छौँ, यो समयमा यहाँका कृषक सुन्तला बिक्रीमा व्यस्त रहेका छन् ।” सुन्तलाबाट राम्रो आम्दानी हुने भए पनि थप खेती विस्तारमा लागेको किसान राईको भनाइ छ । आफ्नो बारीमा चार सय बोट सुन्तलाका बिरुवा लगाएको उहाँले बताउनुभयो । “अहिले पुरानो बगानबाट वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुन्छ”, किसान राईले भन्नुभयो, “केही वर्षपछिबाट रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य छ ।”

सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तला खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सके थप सहजता हुने किसानको भनाइ छ ।

उत्पादन भएको सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गर्न आवश्यक रहेको उहाँको भनाइ छ । “किसानलाई उत्पादन भएको सुन्तला भण्डारणमा समस्या छ”, उहाँले भन्नुभयो, “भण्डारणको व्यवस्था राम्रो नहुँदा एकै पटक बजारमा पठाउनुपर्ने भएकाले किसानले सोचे जस्तो लाभ लिन नसकेको अवस्था छ ।”

यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने वडा नं ५ का वडाध्यक्ष सुनिल राईले बताउनुभयो । “हाम्रो खावा केराबारी क्षेत्र सुन्तलाको अत्यन्तै राम्रो भूगोल हो”, उहाँले भन्नुभयो, “केही प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यहाँको सिँचाइको समस्यालाई ध्यानमा राखेर काम गर्ने योजनामा छौँ ।”

सुन्तलाका लागि पूर्व उत्तर फर्केको जमिन उपयुक्त हुने किसानको भनाइ छ । सुन्तला विशेष गरेर समुन्द्री सतहबाट एक हजारदेखि एक हजार दुई सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ ।

टेम्केमैयुङ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने काम गरिरहेको अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । यहाँका नगदेबालीसँगै कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उहाँको भनाइ छ ।

“गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो योजना नै छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यहाँका हाम्रो सबै नौवटै वडामा सुन्तला फल्छ, सुन्तलाबाट राम्रै आम्दानी गरिरहेको अवस्था पनि छ, यसलाई थप प्रोत्साहन गर्न विभिन्न खेतीमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।”

भोजपुरमा यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादन भएको सुन्तला प्रतिकिलो एक सयदेखि एक सय २० मा बिक्री हुँदै आएको किसानको भनाइ छ । जिल्लाभर नौ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ । युवराज विष्ट/रासस